दशैँमा के खाने, के नखाने ?
दशैँको आठौं दिन आज आश्विन शुक्ल अष्टमी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैँमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् ।
तर चिकित्सकहरुले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् । अझ धेरै दिनदेखिको मासु खानु त स्वास्थ्यका हिसावले निकै हानीकारक मानिन्छ । शाकाहारीले पनि दशैँमा विभिन्न तरकारीका परिकारका साथै मिठाइको परिकार खाने गरेका छन् । मिठाइको परिकार धेरै खाँदा यसले पनि फाइदा पुग्दैन त्यसैले दशैँमा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ।
खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण के खाने के नखाने भन्ने विषयमा जानकार हुन जरुरी छ ।नेपालीको भान्सामा पाक्ने खाने कुरा सामान्य तया मुटोरीगीलाई फाइदा पुग्ने खालको नहुने चिकित्सकहरु बताउँछन् ।
यदी खानपानमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या देखापर्न सक्छ । तपाईमा केही दीर्घ वा अन्य कुनै प्रकारको रोग छ भने झन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डाइभेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ।
अत्याधिक मात्रामा चिल्लो, मसलेदार र रातो मासुका परिकार चाडबाडमा पाक्ने गरेका छन् जुन मुटुका लागि फाइदा पुर्याउने खालका हुँदैनन् । त्यस्तै युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना खानु स्वास्थ्यकर हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँने चिकित्सक बताउँछन् ।
चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकको भनाइ छ ।