अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख नाघ्यो,मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख भन्दा बढी नाघेको छ। विश्वमा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ। हालैका दिनहरूमा नर्थ डकोटा, युटा, विन्सकन्सिन लगायतका अमेरिकी राज्यहरूमा संक्रमित संख्यामा तीब्र वृद्धि देखिएको छ। संक्रमित बढेको भन्दै विन्सकन्सिन राज्यका गभर्नरले राज्यमा नयाँ जनस्वास्थ्य आपतकालको घोषणा गरेका छन्। योसँगै मास्क लगाउनुपर्ने अनिवार्य नियमलाई उनले नोभेम्वर महिनासम्मका लागि बढाएका छन्।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या मंगलबार २ लाख भन्दा बढी पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मृतक संख्या दुई लाख पुग्नु खतरनाक हुने बताउँदै थिए। उनले योसँगै आफ्नो हस्तक्षेपका कारण मृतक संख्या कम भएको दाबी गरेका थिए।

मार्च महिनामा ट्रम्पले देशमा कोरोनाका कारण हुने मृत्यु एक देखि दुई लाखकोबीचमा रहेमा देशले कोरोनाविरूद्धको लडाईंमा राम्रो काम गरेको देखाउने बताएका थिए। तर मृतक संख्या दुई लाख नाघेसँगै कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरूदेखि नै सोको व्यवस्थापनका लागि आलोचना खेप्दै आएका ट्रम्पका लागि मृतकको यो संख्याले उनले राम्रो काम गर्न नसकेको देखाएको छ।
मृतक संख्या २ लाखमा सिमित गर्ने दाबी ट्रम्पले गर्दै आएको भएपनि कोरोना रोकथाममा ट्रम्प प्रशासनले बनाएको टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले भने कोरोनाका कारण २ लाख ४० हजार मानिसको मृत्यु हुने बताउँदै आएका थिए। अन्य विज्ञहरूले भने सामाजिक दूरी र मास्क प्रयोगमा अमेरिकी जनतामा देखिएको उदासिनताले मृत्यु संख्या अनुमान गरिएभन्दा धेरै हुने बताउँदै आइरहेका थिए।
यस्तै युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य इन्सिट्यूटले वर्षको अन्त्यसम्म कोरोनाका कारण हुने मृत्यु ३ लाख ७८ हजार पुग्ने प्रक्षेपण गरेको छ। उसले संक्रमणका कारण डिसेम्बरमा दैनिक ३ हजार जनासम्मको ज्यान जानसक्ने जनाएको छ।
