कोरोना भाइरस अमेरिका: पहिलो खोप नर्सलाई
अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएसँगै त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्या तीन लाख नाघेको छ।
अधिकारीहरूले आउँदो एप्रिल महिनासम्म १० करोडजना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन्।
अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छन्।
ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन्।
किन केही मानिसहरू कोरोनाभाइरसबाट निको भइरहेका छैनन्?
के दोहोर्याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ
कोरोनाभाइरसबारे यस्ता दाबी नपत्याउनुहोस्
“अन्य कुनै खोप लगाए जस्तै भयो। खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने म चाहन्छु। हामी महामारीका माझमा छौं र हामी सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ,” उनले भनिन्।
उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
यो वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो।
खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै लेखेका छन्, “पहिलो खोप दिइयो। अमेरिकालाई बधाई! विश्वलाई बधाई!”
अमेरिकाभर १५० वटा अस्पतालमा सोमवार खोप पुगेको ठानिएको छ
फाइजर-बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर बितरण गर्न लागिएको छ। त्यहाँका झण्डै १ सय ५० वटा अस्पतालहरूले सोमवारसम्ममा खोप पाइसकेको ठानिएको छ।
फाइजर-बायोएनटेक खोपले गत शुक्रवार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो।
कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमण? कति मृत्यु? [अन्तर्क्रियात्मक नक्सा]
देशमा महामारीको असर जारी रहँदा खोप दिन सुरु गरिएको हो। नोभेम्बर यता मृत्यु हुनेहरूको सङ्ख्या पनि अमेरिकामा बढिरहेको छ।
अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि एकदमै बढेको छ। कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अहिले एक लाख ९० हजारभन्दा बढी मानिसहरू अस्पताल भर्ना भएका छन्।कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुने देशको सूचीमा अमेरिका सबैभन्दा माथि छ। बबिीसी नेपाली सेवाबाट साभार गरिएको हो ।