अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोना भाईरसको खोप दिने तयारी

अमेरिकाले डिसेम्बर दोस्रो साताबाट कोरोना भाईरसको खोप दिने तयारी गरेको छ ।अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ।अमेरिकामा दैनिक कोरोना संक्रमणको वृद्धिसमा नयाँ रेकर्ड कायम भइरहँदा डा. स्लावीको अभिव्यक्तिपछि त्यहाँ केही आशा जागेको जनाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । दुई लाख ६२ हजार जनाको मृत्यु भइसकेको छ। अमेरिका कोरोना भाइरसले सबैभन्दा धेरै असर गरेको मुलुकको प्रमुख स्थानमा समेत छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन्।दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

फाइजरको खोपलाई अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृतिको तयारी पनि गरेको जनाइएको छ ।त्यसका लागि एफडीएले डिसेम्बर १० तारिखमा खोप सुरक्षित छ या छैन भनेर निर्क्यौल दिने ठानिएको छ ।

सोही दिन एफडीएको खोपसम्बन्धी परामर्श समितिको बैठक बस्न लागेको बीबीसीले उल्लेख गरेको छ ।फाइजरको उक्त खोप परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो ।

फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँने कम्पनीले दाबी गरेको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने पनि जनाइएको छ ।

अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ। डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता विकास गरिने जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments