बलिउडका चर्चित फिल्मकर्मीले अर्णब गोस्वामी,नविका कुमारविरुद्ध मुद्दा दायर गरे
बलिउडका चर्चित फिल्मकर्मी र फिल्म निर्माण कम्पनीहरु केही भारतीय टि.भी च्यानल बिरुद्ध एकजुट भएर खनिएका छन्। चर्चित चलचित्र कम्पनी तथा निर्माताहरुले केही टेलिभिजन च्यानल र सो च्यानलका प्रस्तोता विरुद्ध दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका छन् ।

रिपब्लिक भारतका संचालक अर्णव गोस्वामी, प्रदिप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शंकर र नविका कुमार विरुद्ध ३४ ओटा चर्चित चलचित्र कम्पनी तथा निर्माताहरुले दिल्लीको उच्च न्यायलयमा अपमानजनक टिप्पणी रोक्न माग गर्दै मुद्दा दायर गरेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठूला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा अपमानजनक तरिकाले रिपोर्टहरु प्रस्तुत भएका थिए । सोही सन्दर्भमा भारतीय मिडियाले बलिउडका चर्चित फिल्मकर्मी र फिल्म निर्माण कम्पनीहरुको चरित्र हत्या गर्न थालेपछी लामो समयपछि बलिउडका ठूला कम्पनी, कलाकारहरु एक भएका हुन् ।

करण जोहर, शाहरुख खान, सलमान खान, आमिर खान, अनिल कपुर, विशाल भारद्धाज, अजय देवगण, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने–टीवी आर्टिस्ट एसोसियसन, दि फिल्म एन्ड टीवी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसियसनले एकसाथ मिलेर दिल्लीको उच्च न्यायलयमा मुद्दा दायर गरेका हुन् ।

उनीहरुले बलिउड उद्योग र यो क्षेत्रमा काम गरिरहेका मानिसहरुप्रति गैरजिम्मेवारीपूर्ण टिप्पणी गर्दै मिडिया ट्रायल भएको आरोप लगाएका छन् । सुशान्तको निधनपछि केही मिडियाले नायिका रिया चक्रवर्तीलाई दोषी देखाउने प्रयास गरेका थिए ।

सुशान्तको निधनपछि जोडिएको ड्रग्सको मुद्दामा करण जोहर, सलमान खान, साहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल, दिपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर जस्ता कलाकारको नाम समेत मिडियाले जोडेको थियो । मिडियाको यो ट्रायलले धेरै कलाकारको करिअरमा समेत धक्का पुगेको छ।
