‘ए मेरो हजुर ४’ को छायांकन सुरु
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन कोरोनाको महामारी फैलिएपछि रोकिएको छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फिल्मको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु गरेको उनले बताए ।
२० जनाको टिमसहित शनिवारदेखि काठमाडौंमा फिल्मको इनडोर छायांकन भइरहेको छ । ‘कलाकारदेखि प्राविधिकसम्मको कोरोना परीक्षण गराएर छायांकनमा निस्किएका हौं । सुटिङ सेटमा सामाजिक दुरी कायम गरिएको छ । सेटमा आउने कास्ट एन्ड क्रियूलाई सेनिटाइज गरेपछि मात्र प्रवेश गर्न दिएका छौं । सेटलाई सुरक्षित बनाएका हौं,’ निर्माता थापाले भने ।
दशैंमा केही दिन विश्राम लिएर तिहारसम्म फिल्मको सम्पूर्ण छायांकन पूरा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि पोखरामा फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । अब फिल्मको सम्पूर्ण छायांकन काठमाडौंभित्रै हुने निर्माता थापाले बताए । उनी फिल्म तयार भएको ६ महिनाभित्र हलमा प्रदर्शन गर्ने योजनामा छन् । अभिनेत्री झरना थापा फिल्मकी निर्देशक हुन् ।