लण्डनमा शाहरुख र काजोलको काँसको मूर्ति राखिने
फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ बर्ष भएको छ । २५ वर्ष पूरा भएको अवसरमा लण्डनको लिसेस्टर स्क्वायरमा अभिनेता शाहरुख खान र काजोलको काँसको मूर्ति राखिने भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् यसको जानकारी दिएका हुन् । उनका अनुसार, यो प्रतिमा अर्को वर्ष (२०२१) अनावरण गरिनेछ । यो यूकेमा बनाइएको पहिलो बलिउड फिल्मको प्रतिमा हुनेछ ।

मुर्तीमा चलचित्रको एक दृश्य समावेश हुनेछ । सन् १९९५ को अक्टुबर २० मा रिलिज भएको यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । उक्त समयमा चलचित्रले भारतमा ८९ करोड र ओभरसिजमा १३ करोड कमाएको थियो ।

चलचित्रलाई ४ करोड बजेटमा निर्माण गरिएको यशराज ब्यानरले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । फिल्मले भारतमा ८९ करोड र ओभरसीजमा १३ करोड ५० लाख कमाएको थियो । फिल्मको कूल कलेक्सन १ सय २ करोडभन्दा बढी थियो ।

मुम्बई सेन्ट्रलमा रहेको सिंगल स्क्रिन मराठा मन्दिरमा विगत २५ वर्षदेखि विहान ११:३० मा ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मात्र देखाइने गरिन्छ । बलिउडको यो आइकनिक फिल्मलाई शाहरुख खान र काजोलको करिअरको टर्निङ पोइन्ट मान्ने गरिन्छ।
