प्रधानमन्त्री ओलीलाई पार्टीको बैठक बोलाउन सामुहिक आग्रह गरिने
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बसेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
पाँच सचिवालय सदस्यको उपस्थित रहेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
यस अघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई पटक पटक बैठक बोलाउन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले नमानेकाले आज अनौपचारिक बैठक बसेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले औपचारिक बैठक बोलाएमा पार्टी फुट्ने सिलसिला त्यहीबाट शुरु हुने बताएको हुनाले उनकै सहमतिमा अनौपचारिक बैठक बसेको स्पष्ट गरे ।
साथै शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सामुहिक रुपमा नै पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीसहित, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा भने अनुपस्थित थिए ।