प्रचण्ड–नेपाल समूह पार्टी नबन्दै भागबण्डाका कारण संकटमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणका बेला अन्यायमा पारिएका सुदूरपश्चिमका नेता भीम रावलमाथि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले फेरी अन्याय गर्न लागेका छन्। पार्टी पद्धती विकासका लागि केपी शर्मा ओली समूहबिरुद्ध खरो उत्रिएका रावलले प्रचण्ड र नेपाल समूहमा कुनै महत्वपूर्ण जिम्मेवारी नपाउने देखिएको छ । भागबण्डाकै कारण उनीमाथी अन्याय हुने देखिएपछि उनी अर्को रणनीतिमा लागेका छन् ।
विभाजनको औपचारिक घोषणा हुन लागेको पार्टीमा रावललाई महासचिव पदमा नलैजाने षडयन्त्र भएको छ। तत्कालिन एमालेका निर्वाचित उपाध्यक्ष तथा अध्यक्ष नेपालका विश्वासपात्रका रुपमा रहेका रावल महासचिवको दौडमा छन् तर उक्त पदमा प्रचण्डले बाजी मार्ने भएका हुन्।
नेपाल समूहका तर्फबाट सुरेन्द्र पाण्डे र प्रचण्डका तर्फबाट बर्षमान पुनलाई महासचिव बनाउने तयारी छ। उपाध्यक्ष पद भने खाली राखेर नेता बामदेव गौतमलाई फकाउने काम भइरहेको स्रोतले जनाएको छ। पाण्डे प्रचण्डका गृहजिल्लावासी मात्र नभएर अहिले उनका बफादार सिपाहीका रुपमा काम गरिरहेका छन् भने पुनः प्रचण्डका खास हुन्।
विभाजित पूर्वएमालेका तर्फबाट पनि पाण्डेलाई नै प्रचण्डको समर्थन रहेको बुझिएको छ। उनी समूहका अध्यक्ष तोकिएका माधबकुमार नेपाल र नेता झलनाथ खनालकापनि आफन्त तथा नजिकका नेता हुन् ।
एकीकरणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अन्याय गरेका थिए। सचिवालयमा समेत स्थान नदिएका ओलीले महासचिवमा विष्णु पौडेल ल्याएर प्रदेश इञ्चार्जमा थन्काईदिएका रावललाई अहिले पनि मौका दिने प्रयत्न गरिएको छैन।
‘अहिले पदाधिकारीबारे छलफल चलिसकेको छैन, महासचिवका विषयमाचाहिँ कुराकानी चलिरहेको हो। सहमति हुन सकेको अवस्था छैन’, उक्त समूहका एक केन्द्रीय सदस्यले भने,‘सचिवालयमा लैजाने कुरा त भएको छ तर पदाधिकारी बनाउने विषयमा मत विभाजन छ।’
महासचिवका लागि भने जनार्दन शर्मा प्रभाकर, घनश्याम भुसालको पनि दाबी रहेको छ। ओली सरकारबाट राजीनामा दिएर योगदान दिएकै कारण पनि महासचिवमा भुसालको दाबी रहेको हो।