कोरोना कहर, ७२ घन्टामा ५ लाखले छाडे राजधानी

बुधबार मध्यरातिसम्म गाडीहरु काठमाडौं उपत्यका बाहिरिदै थिए । बिहान ४ बजेसम्मपनि गाडी हिडिरहेका थिए । यही कारण नागढुंगा नाका हुँदै गाउँ फर्किनेहरुको सवारी लर्को हेर्दा अत्यास लाग्दो छ ।

अहिलेसम्म त्यहाँ जाम नै छ । मानिसहरुले यहाँको कोठामा भएका ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान बोकेर गाउँ फर्किएका छन् । उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै अब काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले मानिसहरु भागेका हुन् ।

त्यसैले कोठाका सबै सामानसहित घर फर्किनेहरु बहुसंख्यक छन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै घोषणा गरिसकेको थियो ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड भयो । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम हिजो देखिन्थ्यो ।

निषेधाज्ञामा रोजगारी गुम्ने र काठमाडौं बसाइँ कष्टपूर्ण हुने त्रासले गाउँ फर्किन लागेका सयौं नागरिक गाडी नपाएर मध्यरातसम्म कलंकी चोकमा अलपत्र थिए ।

बिहीबार बिहान ६ बजेदेखि काठमाडौंमा निषेधाज्ञा लागू भएको छ । तर, त्यसअघि नै काठमाडौंबाट बाहिरिन चाहेकाहरू गाडी अभावले बिचल्लीमा परेका छन् । सोमबार र मंगलबारको तुलनामा बुधबार यात्रुको चाप अत्यधिक थियो।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि पछिल्ला तीन दिन (७२ घन्टा) मा पाँच लाख मानिस बाहिरिएका छन् । बुधबारदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने त्रासले ठूलो संख्यामा सहरी मजदुर गाउँ फर्किएका छन् । उच्च शिक्षा पढ्न काठमाडौं आएका विद्यार्थी पनि धमाधम फर्किएका छन् ।

निषेधाज्ञाअघि नै उपत्यका भित्रिनुपर्ने सवारी जाममा फसे

निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण गएरातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्मनै चर्को जाम रहेको थियो ।

सो जाम अहिलेपनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बाटो अझै क्लियर नभएको र निषेधाज्ञा अघि नै उपत्यका प्रवेश गर्नुपर्ने गाडीहरु जाममै फसेका छन् । निषेधाज्ञा लागू भएपनि ती गाडीहरुलाई भने उपत्यका भित्रन दिने उहाँको भनाइ छ ।

उहाँका अनुसार काठमाडौंको हकमा निषेधाज्ञा उलंघन गर्ने चार पांग्रे र दुई पांग्रेगरी २०० सवारी होल्ड भएका छन् । उनीहरुलाई बेलुका ७ बजेमात्रै छाड्ने उहाँको भनाइ छ । उहाँले ८१ ठाउँमा सवारी चेक गर्ने योजना भएपनि अहिले ४० ठाउँमा चेकजाँच भइरहेको जनाउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments