काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने, निषेधाज्ञा कडा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा पनि लम्बिएको छ । जानकारी अनुसार निषेधाज्ञा एक साता थप भएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको जनाइएको छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, विमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ ।
विकास निर्माणका काम गर्न सम्बन्धित आयोजनाले कामदारलाई आवासीय रुपमा नै राख्नुपर्नेछ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना विभागको पास देखाएर आवतजावत गर्न सक्नेछन् । सूचना विभागको पास नभएमा कर्मचारीको विवरण सञ्चार गृहले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइनेछ । काठमाडौंमा पछिल्ला दिनहरुमा दैनिक तीन हजार भन्दा धेरै कोरोना संक्रमित थप हुन थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments