बर्दिवास तनावग्रस्त निषेधाज्ञा तोडेर प्रदर्शन,दुई प्रहरी घाइते

महोत्तरी- बर्दिवासमा प्रदर्शनकारीले ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा तनाव चुलिएपछि जारी गरिएको निषेधाज्ञा अवज्ञा गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

आइतबार बेलुका हराएकी बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीया बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीवासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईँका अनुसार प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का एक जवान घाइते भएका निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन र नाराबाजी भएपछि त्यसलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेको डीएसपी चापागाईँले बताए । प्रदर्शनकारीहरु अहिले पनि नाराबाजी गर्दै सडकमा उत्रिएका छन् ।

मंगलबारदेखि जारी उनीहरूको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिवास नगरपालिका- १ का सञ्जय न्यौपानेको पनि मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ती दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम र बीपी राजमार्ग नै अवरूद्ध पारेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments