भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण सक्काएर स्वदेश प्रस्थान
नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किनुभयो ।
भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गर्नुभएको थियो ।
यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गर्नुभयो ।
साथै उहाँको बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित हुनुहुन्थ्यो ।