भागरथी भट्टको हत्यारा पक्राउ

बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा एक युवकलाई घटना भएको दुई सातापछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भागरथी पढ्ने विद्यालयमै ११ कक्षामा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका ती किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिइएको हो । भागरथी र दिनेश चिनजानका मात्र होइनन्, नाताका पनि हुन् ।

डीआईजी सुवेदीले भने, ‘हत्या आरोपमा पक्राउ परेका व्यक्ति पहिलेदेखि नै हाम्रो उच्च निगरानीमा थिए । प्रमाण जुटाउन लागिरहेका थियौँ । केही प्रमाण हात परेपछि उनलाई समातेका हौँ । उनले बयानका क्रममा आफूले हत्या गरेको स्वीकारिसकेका छन् ।’

जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भागरथीको हत्यामा अहिलेसम्म दिनेशबाहेक अरू कोही संलग्न नदेखिएको बताए । उनले भने, ‘अनुसन्धानले ऊ एक्लै संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरू आएपछि हामी थप तथ्यहरू बाहिर ल्याउन सक्छौँ ।’

प्रहरी अनुसन्धानअनुसार पुरानो रिसिइबीका कारण दिनेशले माघ २१ भागरथीलाई सुरुमा धकेलेर लडाएर बोहोस भएपछि घाँटी थिचेर हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा दिनेशले घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेको बताएका छन् ।

एक जना अनुसन्धान अधिकारीका अनुसार बयानमा दिनेशले भनेका छन्, ‘म पहिले नै भागरथी दिदी आउने बाटो कुरेर बसेको थिएँ । दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर हत्या गरेँ ।’

डीआईजी सुवेदीका अनुसार पारिवारिक रिसिइबीले गर्दा योजनाअनुसार नै घटना भएको देखिन्छ । दिनेश र भागरथीका घर करिब १५ मिनेटको पैदल दूरीमा छन् । दिनेश नातामा भागरथीका भाइ पर्छन् । दिनेशले दिदी भन्ने गरेका थिए । प्रहरीसँगको बयानमा पनि उनले दिदी नै भनेका छन् ।

माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो । त्यसको भोलिपल्ट साँझ घर नजिकैको जङ्गलमा उनी मृत फेला परेकी थिइन् । प्रहरीले कुकुर डुलाउँदै विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरू भएको घटनास्थलमा पुर्‍याउने समयसम्म दिनेश गोरु चराउने निहुँ गरेर घरै बसेका थिए । त्यतिबेला उनीमाथि कसैको शंका थिएन । डीआईजी सुवेदीका अनुसार कुकुरले सुँघेर आफूलाई पत्ता लगाउन सक्छ भन्ने त्रासका कारण दिनेश घटनास्थल नगई गोठालो गएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments