दिपायल–सिलगढीमा सबै विद्यालय आठ महिनापछिसञ्चालन
कोरोना सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन्।
नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले बन्द भएका विद्यालयमा आइतबारदेखि अध्ययनअध्यापन सुरु गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार सबै सरकारी तथा निजी विद्यालय खुलेको दिल्पेश्वर मावि दिपायलका शिक्षक गोविन्दराज जोशीले बताए।
उनले भने, ‘आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आजदेखि पढाइ सुरु गरेका छौँ।’
माध्यमिक र क्याम्पस तहका कक्षा आजदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जनाएको छ।
शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्य रुपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागिएको अमरज्योति स्कुल दिपायल पिपल्लाका अध्यक्ष धनबहादुर शाहीले बताए।