वीर अस्पतालमा कोरोना संक्रमित कैदीको मृत्यु भएपछि आफन्तको प्रदर्शन
केन्द्रीय कारागार सुन्धारामा थप एक कैदीको कोरोना संक्रमणबाट ज्यान गएको छ। उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। असोज ३ गते मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय रामलखन जैसवालमा सोमबार साँझ संक्रमण पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन्।
कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनी मिर्गौला रोगी थिए। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको मृत्यु भएको थियो। उनको उपचारको क्रममा ज्यान गएपछि आफन्तले वीर अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन्।

उनकी पत्नी, छोरी भैरहवाबाट वीर अस्पताल आइपुगे । तर उनलाई कोरोना पुष्टि भइसकेकाले अस्पताल प्रशासनले परिवारका सदस्यहरुलाई शव हेर्न दिएन । छोरी जबरजस्ती शव गृहमा प्रवेश गर्दा शवमा फोकाहरु देखिए, आँखा छेऊ रगत पनि देखियो । यसलाई परिवारले शंकास्पद मानेको छ । मृतककी छोरीले शवको दृश्य मोबाइलमा पनि कैदी गरेकी छन् । परिवारले अहिले पोष्टमार्टम नगरी शव उठाउन नदिने अडान लिएको छ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने जैसवालको शव धेरै दिन राखिएकाले गलेर त्यस्तो देखिएको बताउँछन् । उनका अनुसार शवलाई संरक्षण गरेर राख्ने ठाउँ नभएकाले त्यत्तिकै छोपेर राखिएको थियो। कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल पनि घटनामा शंका गर्नुपर्ने आधार नभएको बताउँछन् । परिवारलाई चित्त नबुझे थप छानविनको बाटो समेत रहेको उनले बताएका छन्।
