डा. गोविन्द केसीले तोडे अनसन

विगत २८ दिनदेखि विभिन्न मागसहित अनसनरत डा.गोविन्द केसीले आइतवार बिहान अनसन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनमा बसेका डा केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेको उनी निकट स्रोतले लोकपथलाई जानकारी दिएको छ।

चिकित्सा शिक्षा क्षेत्रको मागसहित डा केसी गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याई शिक्षण अस्पतालमा राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकरुले डा केसीको स्वास्थ्य अवस्था जटिल गएको जानकारी गराए पश्चात डा केसी र सरकार पक्षबाट गत बुधवार वार्ता टोली गठन गरिएको थियो ।

यी हुन डा केसीले १९ औँ अनसनमा राखेका मागहरु:

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा,उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

५. राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस् ।

६. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निस्शुल्क सेवा सुनिश्‍चित गरियोस् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments