नेपालको आफ्नै रेल आज जनकपुर रेल्वे स्टेशन आईपुग्यो
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट आज शुक्रबार नेपाल आईपुगेको छ।भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आईपुगेको हो।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । भारतबाट २ सेट रेलको बुगी र ४ वटा इन्जिन नेपाल भित्रिएको हो । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल किनेको हो ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ । जनकपुरधाममा ट्रायलका लागि दुई सेट रेल ल्याइएपनि अहिले सञ्चालनमा ल्याउने कुनै योजना नरहेको रेल विभागले जनाएको छ ।

कोरोना संक्रमणको त्रासका कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि सञ्चालनमा ल्याउनु घातक रहेको महाप्रबन्धक गुरु भट्टराईले बताए । कोरोना महामारी कम हुदै गएमा डेढ महिनाभित्रै सर्वसाधारण यात्रुका लागि समेत रेल्वे सञ्चालनमा ल्याउने योजना रहेको भट्टराईले बताए ।
