नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण भएका थप बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।
नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन सकेको जनाएको छ । अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउन सक्ने जानकारी समेत गराइसकेको अस्पतालले स्पष्ट पारेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ ।
कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग मागसमेत गरेको छ ।