वामदेव गौतमले भेटे प्रचण्डलाई, ओलीका लागि राखे यी प्रस्ताव
काठमाडौं । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
उपाध्यक्ष गौतमले आज बिहान प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको थियो । उहाँहरुबीच पार्टी एकता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी विदा गर्ने भन्ने विषयमा चर्चा भएको थियो । नेकपा ओली पक्षको अध्यक्षसमेत रहनु भएका केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षमा विभाजित भएको छ ।
गौतम भने एकताका पक्षमा उभिनु भएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव र प्रचण्डबीच भएको यो पहिलो भेट हो ।
प्रचण्ड र गौतमबीच करिब आधा घण्टा खुमलटारमा छलफल भएको थियो । नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया दिनुभयो ।
बुधबार विज्ञप्ति जारी गर्दै वामदेवले ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । प्रचण्डसँग नेता गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानजनक तरिकाले विदा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।