महाशिवरात्रि पर्वको अवसरमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

काठमाडौं : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

तीनवटै बाहिरी लाइनमा भक्तजनको भीड
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरीरूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । आवश्यकतानुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।

बाहिरी तीनै लाइनमा अहिले भक्तजनको भीड लागेको छ । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य
कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उहाँले दिनुभयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ ।

कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि नै कोष, गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयलगायत संस्थाले निःशुल्क भोजन, धुनीलगायत व्यवस्था गर्ने प्राचीन परम्परा छ । आज आठ लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषले अनुमान गरेको छ ।

रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments