वीर अस्पताल र केन्द्रीय कारागारद्वारा मृत्यु शंकास्पद नभएको दाबी
गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा केन्द्रीय कारागार सुन्धाराका एक कैदी ६३ वर्षीय रामलखन जैसवालको कोरोना संक्रमणबाट ज्यान गएको थियो।
कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनी मिर्गौला रोगी थिए। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको मृत्यु भएको थियो। उनको उपचारको क्रममा ज्यान गएपछि आफन्तले वीर अस्पताल अगाडि विरोध प्रदर्शन गरेको थियो।
केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको दावी गरेको छ । कारागार र अस्पतालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति उपचारको क्रममा जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको जानकारी गराईको छ।

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको विज्ञप्तिमा उल्लेख छ । थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपचाको क्रममा उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताएका छन् ।
शवलाई रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको डा. सेन्चुरीले बताए । बाहिर आएका विभिन्न किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत साबित भएको विज्ञप्तिमा उल्लेख छ । अन्य रिपोर्ट पोस्टमार्टमपछि मात्रै आउने विज्ञप्तिमा उल्लेख छ ।
मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।