एउटा जिल्लाबाट अर्को जिल्लामा जानेले आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
सरकारले पहिले क्वारेन्टिनमा बस्ने खर्च व्यहोरर्दै आएकोमा अब विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्तिले आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्वयम् व्यक्तिले बेहोर्नुपर्ने छ ।
कोरोना संक्रमण बढ्दै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराउनुभयो ।
यदि सो अवधिमा कुनै पनि लक्षण नदेखिएमा पीसीआर परीक्षण भने गर्नुपर्ने छैन । त्यस्तै पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको ७२ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएकालाई मात्र नेपाल आउन अनुमति दिइने व्यवस्था गरिएको पनि प्रवक्ता गौतमले बताउनुभयो ।