मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक : देउवा
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका छन्। मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए ।
उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो,’ उनले भने ।
कार्यक्रम सञ्चालक जनार्दन शर्माले प्रचण्डभन्दा ठीक अगाडि देउवालाई मञ्चमा बोलाएका थिए ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले सुरुमै प्रचण्डको प्रशंसा गरे । नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका उनले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’
प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधान बनाउन पनि प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान रहेको सबैले मान्नुपर्ने देउवाको तर्क छ ।
त्यसपछि देउवाले पाँचदलीय गठबन्धनबारे बोले । संविधान र संसद बचाउन गठबन्धन गरेको भन्दै उनले भने, ‘ओलीजीहरुलाई पनि हाम्रो खिलापमा गठबन्धन गर्यो भने नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो । त्यसमानेमा यो गठबन्धन पुरा समयसम्म चल्नेछ । म त के चाहन्छु, भने अझ अगाडि जाओस् ।’