४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने अध्यागमन विभागको प्रस्तावको विरोध
अध्यागमन विभागले ४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने कार्यविधि संशोधन प्रस्ताव ल्याएपछि त्यसको विरोध गरिएको छ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएकोमा त्यसले समानताको हकलाई कुण्ठित गरेको भन्दै विरोध भएको हो ।
कानून व्यवशायी शीतल पाण्डे भन्छिन् -‘चालिस बर्ष मुनिका महिलाले विदेश यात्रा तय गर्दा पुरुषको अनुमति माग्नु पर्ने नियमले संविधान प्रदत्त समानताको हकलाई कुण्ठीत गर्छ । यस्तो कुराले महिलाको सुरक्षाको प्रत्याभुत गर्ने नभई महिलाको अधिकार र अस्तित्व पुरुषका वरिपरी घुम्ने गरी सीमितता तर्फ डोर्याउँछ ।’
अध्यामगन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।
मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागको तर्क छ । गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू गर्ने तयारी भइरहेको छ । सामाजिक सञ्जालमा यस्तो प्रस्तावको चर्को विरोध भएको छ ।