लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड
प्रिमियर लिगको साविक विजेता लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।सिजनको लिग सुरु हुनु अघि हुने प्रतियोगितामा आर्सनलले पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गरेको हो।
आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन् । दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन् । लिभरपुलका मोहमद सलाह र फाबिन्होले गोल गर्दा आर्सनलका राइस नेल्सन र एन्सले मेटल्यान्ड नाइल्सले गोलरक्षकलाई बिट गरे ।

लिभरपुलको तेस्रो प्रहार गर्न आएका युवा फरवार्ड रियन ब्रेस्टरको प्रहार क्रसबारमा लाग्दै बाहिरीएपछि आर्सनलले अग्रता लिन अवसर पायो । उक्त अवसरलाई सेड्रीक सोआरेसले गोल गर्दै सदुपयोग गरे । त्यसपछि मिनामिनो र कर्टिस जोन्सले गोल गरेपनि आर्सनलका डेविड लुइज र औबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे । लिभरपुललाई हराउदै आर्सनलले छैठौ पटक कम्युनिटी शिल्ड जित्न सफल भयो ।