आईपीएलबाट किंग्स-११ पन्जाब बाहिरियो
आईपीएलमा चेन्नाई सुपर किंग्ससंग ९ विकेटले पराजित हुँदै किंग्स-११ पन्जाब आईपीएलको प्लेअफ रेसबाट बाहिर हुने दोश्रो टिम बनेको छ। चेन्नाई प्लेअफ रेसबाट बाहिर हुने पहिलो टिम थियो। खेलमा पन्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले मात्र १ विकेट गुमेर १८.५ ओभरमा पुरा गर्यो।

टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।पन्जाबको लागि दिपक हुडाले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। आईपीएल करियरमा हुडाको यो दोश्रो अर्धशतक हो।कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

पहिलो विकेटको लागि केएल राहुल र मायाँक अग्रवालले ४८ रनको साझेदारी गरेका थिए।७२/४ को अवस्थाबाट मन्दिप सिंहले दिपक हुडासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। १६ औं ओभरमा सिंहलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा जेम्स निशमलाई एनगीडीले तेश्रो शिकार बनाए।
अर्को किनारमा विकेट गुमेता पनि दिपक हुडाले एक किनार सम्हाल्दै ब्याटिंग गरे जसलाई क्रिस जोर्डनले साथ दिए। सातौँ विकेटको लागि हुडा र जोर्डनले मात्र १७ बलमा ४० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले २ विकेट गुमाएर ५८ रन बनायो।
चेन्नाईको ब्याटिंगमा रुतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।गायकवाड लगातार ३ खेलमा अर्धशतक बनाउने चेन्नाई सुपर किंग्सका पहिलो खेलाडी समेत बन्न पुगे। उनले यस अघि बैंगलोर बिरुद्ध ६५ तथा कोलकाता बिरुद्ध ५१ रन बनाएका थिए।

ओपनर गायकवाड र डु प्लेसीले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। दोश्रो विकेटको लागि गायकवाड र अम्बाती रायडुले अर्धशतकी साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले अविजित ७२ रनको साझेदारी गरे।

१४ खेलमा ६ जित र ८ हार बेहोरेको पन्जाब अंकतालिकामा पाँचौ स्थानमा यथावत रहेको छ भने चेन्नाई जितपछि कोलकातालाई पछि पार्दै सातौँ स्थानमा उक्लेको छ। चेन्नाईले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै लिग समाप्त गर्यो।
पन्जाब पराजित भएपछि अब कोलकाता, राजस्थान र हैदरावादको प्लेअफ सम्भावना बढेको छ। हैदरावाद मुम्बईसंग अन्तिम खेलमा मंगलबार विजयी भएको खण्डमा प्लेअफ छनौट हुनेछ। हैदरावाद पराजित भएको खण्डमा कोलकाता र राजस्थान बिचको खेलमा विजयी हुने टिम तथा बैंगलोर र दिल्ली बीच खेलमा पराजित हुने टिम मध्ये नेट रन रेटमा उत्कृस्ट हुने टिम प्लेअफ पुग्नेछ।