जन्मदिन विशेष : दिपेन्द्र सिंह ऐरी (उप कप्तान , नेपाली राष्ट्रिय क्रिकेट टीम )

आज नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान तथा मध्यक्रम का भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको जन्मदिन । नेपाली अन्डर-१९ टिम हुँदै राष्ट्रिय टिम सम्मको यात्रा गरेका दिपेन्द्र ऐरिले नेपालको लागि सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध घरेलु मैदानमा राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए । उक्त डेब्यु पछि उनले आफ्नो क्रिकेट यात्रा लाई पछाडी फर्केर हेर्नु परेको छैन ।

विशेष गरि मध्यक्रम मा ब्याटिङ गर्ने ऐरी आफ्नो उत्कृष्ट फिल्डिङ को लागि पनि परिचित छन । राष्ट्रिय टिम मा डेब्यु गरेको छोटो समय मा नै आफुलाइ अब्बल खेलाडी साबित गरेका उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको भाबी कप्तान को रुपमा हेर्ने गरिन्छ । उनले आफ्नो ४ वर्ष को राष्ट्रिय टिमको यात्रामा केही यादगार पारी खेलेका छ्न । उनको जन्मदिन को अवसर मा उनले अहिलेसम्म खेलेका केही उत्कृस्ट पारी लाई यहाँ प्रस्तुत गरेका छौ ।

६१ रन ( बिरुद्ध केन्या , २०१७ बिश्व क्रिकेट लिग च्याम्पियनसिप )

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आयोजित बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्यासंग ऐरि को करियरको दोश्रो खेल थियो । दोस्रो खेल मै उनले उत्कृस्ट ब्याटिंग गरेका थिए। केन्या संग नै भएको अघिल्लो खेलमा ऐरिले राष्ट्रिय टिम मा डेब्यु गरेका थिए।

केन्यासंग पहिलो खेलमा नेपाल पराजित भए पछि दोश्रो खेलमा नेपाल गर या मरको स्थितिमा थियो । पहिले ब्याटिंग गरेको केन्याले नेपाललाई १५६ रनको सामान्य लक्ष्य दियो। लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवात राम्रो गर्न सकेको थिएन र पहिलो २ विकेट १४ रनमै गुमाउन पुग्यो। त्यसपछि ब्याटिंग गर्न आएका ऐरिले तेश्रो विकेटको लागि तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्लसंग १११ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। ६६ बलमा ऐरिले ८ चौका र १ छक्का प्रहार गरेका थिए जुन नेपाली टिमको लागि उनको पहिलो अर्धशतक थियो।

५६ रन ( बिरुद्ध बंगलादेश यु-२३ , एसीसी इमर्जिङ्ग टिम्स कप २०१७ )

बंगलादेशमा भएको प्रतियोगितामा नेपालको लागि दोश्रो प्रतियोगिता खेल्ने क्रममा ऐरिले उत्कृष्ट इनिङ्ग खेलेका थिए।

बंगलादेश यु-२३ टिमले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ३ विकेट १६ रनमै गुमाईसक्दा ऐरिले चौथो विकेटको लागि विकेट किपर ब्याट्सम्यान दिलिप नाथसंग ९८ रनको उत्कृष्ट साझेदारी गर्ने क्रममा अर्धशतक बनाएका थिए। राष्ट्रिय टिमको लागि दोश्रो अर्धशतक बनाउने क्रममा ऐरिले स्तरीय बंगलादेशी बलर बिरुद्ध राम्रो ब्याटिंग गरेका थिए।

बंगलादेश यु-२३ टिममा बंगलादेशको लागि खेली सकेका बलर अबुल हसन, मोहम्मद सैफुद्दीन, नासिर हुसेन, अफिफ हुसेन, मोमिनुल हक जस्ता बलरहरु थिए। उक्त नेपाल खेलमा ८३ रनले पराजित भए पनि ऐरिले ५६ रन बनाउदै धेरै को मन जितेका थिए।

६०* ( बिरुद्ध हंगकंग , एसीसी इमर्जिङ्ग टिम्स कप २०१७ )

नेपालको लागि तेश्रो अर्धशतक बनाउने क्रममा ऐरिले हंगकंग बिरुद्ध ७ विकेटको जितमा उत्कृस्ट इनिंग खेलेका थिए। हंगकंगले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा ऐरिले अविजित ६० रन बनाउन ८३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। यस क्रममा ऐरिले शरद भेसावकरसंग ११५ रनको विशाल साझेदारी गरेका थिए।

५० रन ( बिरुद्ध पपुवा न्यु गिनी, आईसीसी बिश्व कप छनौट २०१८ )

पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गर्ने क्रममा नेपालले मात्र ११५ रनको लक्ष्य पछ्याउदा ३५ रनमै ३ विकेट गुमाईसकेको थियो। त्यसपछि नेपाललाई सुरक्षित गन्तब्य प्रदान गर्ने क्रममा ऐरिले चौथो विकेटको लागि अरिफ शेखसंग ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अविजित ५० रन बनाउदै राष्ट्रिय टिमको लागि चौथो अर्धशतक बनाउने क्रममा ऐरिले ५८ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

५४ रन ( बिरुद्ध मलेसिया, एसिया कप छनौट २०१८ )

मलेसियामा सम्पन्न प्रतियोगिताको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले पहिलो ५ विकेट ६० रनको योगफलमै गुमाउन पुगेको थियो। नेपाल सानो योगफलमै समेटिने खतरा थियो जसलाई दिपेन्द्र ऐरिले उत्कृस्ट ब्याटिंग गर्दै टार्न पुगे।

छैठौं विकेटको लागि ऐरिले आरिफ शेखसंग १०१ रनको साझेदारी गर्दै राष्ट्रिय टिमको लागि पाँचौ अर्धशतक समेत पुरा गरेका थिए। ५४ रन बनाउन ५१ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरे। खेलमा नेपालले १८८ रनको योगफल तयार गर्यो र लक्ष्य पछ्याउने क्रममा मलेसिया १६९ रनमा समेटिन पुग्दा नेपालले १९ रनको जित दर्ता गर्यो।

४७ रन ( बिरुद्ध युएई, नेपाल-युएई टि-२० सिरिज )

२०१९ जनवरी/फेव्रुअरिमा युएईसंग ऐतिहासिक टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत ३ एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो टि-२० अन्तर्राष्ट्रियमा दिपेन्द्र ऐरीको ब्याट नचल्दा उनी आलोचनाको शिकार बनेका थिए। तर दोस्रो टि-२० खेलमा ऐरीले अतिआवश्यक ४७ रनको अविजित इनिंग खेल्दै नेपाललाई जित दिलाएका थिए। त्यसक्रममा उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

खेलको प्लेयर अफ दि म्याच बनेका ऐरीले टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक रन बनाउंदा नेपालले खेलमा रोमान्चक जित हात पार्यो। युएईले दिएको १०८ रनको सामन्य लक्ष्य पछ्याउने क्रममा नेपाल ३५/३ को खराब अवस्थामा रहंदा दिपेन्द्र ब्याटिंग गर्न गर्न उत्रिएका थिए। त्यसपश्चात उनले करन केसीसंग चौथो विकेटको लागि मात्र ४ रनको साझेदारी गर्न सके। करनको विकेट पश्चात थप ७ रन जोड्दा सन्दिप जोरा समेत पभेलियन फर्किए।

खराब अवस्थामा रहेको नेपालको ब्याटिंगलाई दिपेन्द्रले पवन सर्राफसंग छैठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको नजिक पुर्याए। जितका लागि ७ रन आवश्यक हुँदा पवनले अन्तिम ओभरको पहिलो बलमा आफ्नो विकेट गुमाएका थिए। त्यसको लगत्तै दिपेन्द्रले छक्का र चौका प्रहार गर्दा नेपाल खेलमा जित दर्ता गरेको थियो ।

६० (३०) विरुद्ध नेदरल्यान्डस ट्राइ नेसन सिरिज नेपाल

ट्राइ नेसन्स सिरिज को दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरी ले ३० बलमा ६० रनको धुवाँधार इनिङ खेलेका थिए । त्यस क्रममा उनले ५ छक्का र ३ चौका हिर्काएका थिए । उनको यो पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी अर्धशतक थियो । दिपेन्द्र ऐरी र कुशल भुर्तेल को शानदार ब्याटिङ मा २० ओभरमा २०६ रनको विशाल योगफल तयार गरेको नेपाल ले उक्त खेल ३ विकेट ले हारेको थियो ।

४८* (१८) विरुद्ध नेदरल्यान्डस ट्राइ नेसन्स सिरिज फाइनल नेपाल

नेपाल मलेसिया नेदरल्यान्डस सम्मिलित ट्राइ नेसन्स सिरिज को फाइनलमा दिपेन्द्र ले १८ बलमा ४८ रनको बिस्पोटक पारी खेलेका थिए । उक्त क्रममा उनले पाच चौका र तीन छक्का हिर्काएका थिए । दीपेन्द्र ऐरी र कुशल मल्ल को उत्कृष्ट ब्याटिङ को मद्दत ले नेपाल ले उक्त खेलमा नेदरल्यान्ड लाई २३९ रनको विशाल लक्ष्य दिएको थियो भने १४२ रनले खेल जित्दै सिरिज माथी कब्जा जमाएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अब्बल खेलाडी तथा उप-कप्तान दिपेन्द्र सिंह ऐरीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments