क्यानको वर्गीकरणको सर्वत्र बिरोध

नेपाल क्रिकेट संघको चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेटरहरुको वर्गीकरण सार्वजनिक गरेको छ । पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरहरुलाई पनि वर्गीकरण गरिएको हो। दुवै टिमलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।

पुरुषतर्फ तिन वटा श्रेणीकाले क्रमशः मासिक ५० , ४० र ३० हजार तथा महिलातर्फ मासिक १५, १२ र १० हजार तलव निर्धारण गरि वर्ष २०२० को १८ पुरुष तथा १९ महिला राष्ट्रिय क्रिकेटरको तलव तोकियो। महिला राष्ट्रिय क्रिकेटरलाई पहिलो पटक वर्गीकरण गरिएकोमा तारिफ भएता पनि क्यानको वर्गीकरणमा ग्रेड बिभाजनको भने चौतर्फी बिरोध भएको छ। पूर्व क्रिकेटरहरु, मिडिया तथा समर्थकहरुले वर्गीकरणको चर्को आलोचना गरेका छन्।

क्यानले गरेको ग्रेड बिभाजनको आधारमै प्रश्न उठेको हो। केहि नियमित राष्ट्रिय क्रिकेटरलाई वर्गीकरणमै समाबेश गरिएको छैन भने टिममै नपरेका क्रिकेटरहरुलाई समाबेश गरिएको छ। पुरुष तथा महिला क्रिकेटरहरुको वर्गीकरणमा क्यानको ठूलो लापरबाही देखिएको छ। खेलाडीहरुको श्रेणी बिभाजनबारे राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित राष्ट्रिय खेलाडीहरुले असन्तुष्टि व्यक्ति गर्दै शुक्रबार क्यानलाई ज्ञापन पत्रनै बुझाएका छन्। पत्रमा खेलाडीहरुले श्रेणी बिभाजनलाई पुनरावलोकन गर्न माग गरेका छन्।

किन असन्तुष्ट क्यानको वर्गीकरण ?

ललित राजबंशी वर्गीकरणमै परेनन्

जिम्बाबे बिरुद्ध २०१८ मा राष्ट्रिय टिमको लागि डेब्यु गरेका देब्रे हाते स्पिनर ललित राजबंशीलाई वर्गीकरणबाट बाहिर राखिएको छ। राजबंशी २०१९ मा नेपाली राष्ट्रिय टिमले खेलेको सबै प्रतियोगितामा मुख्य स्पिनरको रुपमा टिममा थिए। यो वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न टि-२० प्रतियोगितामा भने राजबंशीलाई टिममा समावेश गरिएन। उनको स्थानमा अर्का देब्रे हाते स्पिनर भुवन कार्की टिममा रहेका थिए।

प्रतियोगितामा नेपाल चौथो हुँदै एसिया कप छनोटमा छनोट हुन असफल भएको थियो। त्यसपछि नेपालमै आयोजित विश्वकप लिग-२ मा भने उनलाई पुनः टिममा समावेश गरियो। उनले अमेरिका बिरुद्ध खेल्ने मौका पाए पनि ३५ रनमै टिम समेटीन पुग्दा बलिंग भने गर्न पाएनन्।

नेपाल पुलिस क्लबका कप्तान तथा राष्ट्रिय क्रिकेटर मन्जीत श्रेष्ठले पनि ललितलाई कुनै पनि ग्रेडमा नराखिएकोमा आक्रोश प्रकट गरेका छन् –
“ललितको भनसुन गरिदिने कोहि नभएर हो कि ? १-२ चोटी पर्नेहरु ( राष्ट्रिय टिममा ) अटाउन सके तर जहिले नेपाली टिममा पर्ने ललित चाही गायब।” ललिको पुलिस टिमका कप्तान श्रेष्ठले लेखेका छन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्व विकेट किपर ब्याट्सम्यान तथा राजबंशीको घरेलु टिम नेपाल पुलिस क्लबका वर्तमान प्रशिक्षक मनोज कटवालले आफ्नो फेसबुकमा ललित वर्गीकरणमा नराखेकोमा दुख र आश्चर्य प्रकट गरेका छन् –
“नेपालको युवा प्रतिभावान खेलाडी ललित नारायण राजबंशी नेपाल क्रिकेट संघले गरेको खेलाडी वर्गीकरणमा कुनै पनि ग्रेडमा नपर्नु दुखद, अपत्यारिलो र आश्चर्यजनक निर्णय रहेको जस्तो अवगत भयो। यो निर्णय यथासिघ्र सुधार हुनेछ भन्नेमा आशावादी रहेको छु।” कटवालले लेखेका छन्।

१ खेल खेलेका क्रिकेटर वर्गीकरणमा

अचम्म लाग्ने कुरा त के छ भने नेपालको लागि एउटा मात्र खेल खेलेका राशिद खान र २ वटा खेल खेलेका कमल सिंह ऐरी भने वर्गीकरणमा ‘सी’ श्रेणीमा अटाएका छन् तर ललित वर्गीकरणमा परेनन। राशिदले गत वर्ष डिसेम्बरमा भुटान बिरुद्ध साग क्रिकेटमा १ खेल खेलेका थिए जुन क्रममा विकेटविहिन रहेका थिए।

कमलले यसै वर्ष विश्वकप लिग-२ मा ओमान बिरुद्ध वानडेमा डेब्यु गर्ने क्रममा ४ ओभर बलिंग गरेका थिए। त्यस बाहेक उनले एमसीसीको गत वर्ष नोभेम्बरको टुरमा टि-२० मा मौका पाएका थिए जुन खेलमा ४८ रन खर्चेर १ विकेट लिएका थिए। कमल र राशिद सोहि प्रदर्शनको बलमा वर्गीकरणमा परे तर ललित राजबंशी भने बाहिरिए।

बसन्त रेग्मी ‘ए’ श्रेणीमा बढुवा सोमपाल कामी ‘बि’ श्रेणीमा घटुवा

पुरुष क्रिकेटकै वर्गीकरणमा २०१४ देखि लगातार राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीलाई ‘बि’ श्रेणीमा झारिएको छ। सोमपालले बलिंग मात्रै हैन ब्याटिंगमा पनि उत्तिकै योगदान दिंदै नेपाललाई कैयौं खेल जिताएका छन्। उनि वानडे अन्तर्राष्ट्रियमा नेपालको दोश्रो सर्वाधिक विकेटकर्ता हुन् भने टि-२० मा तेश्रो सर्वाधिक विकेटकर्ता। ६ वानडेमा उनले १३ विकेट लिएका छन् भने टि-२० मा २८ खेलमा २६ विकेट लिएका छन्। बलिंग मात्रै हैन ब्याटिंगमा पनि सोमपाल टि-२० मा नेपालको सातौँ र वानडे अन्तर्राष्ट्रियमा पाँचौ सर्वाधिक रनकर्ता हुन्।ब्याटिंगमा पनि उनको प्रदर्शन ‘ए’ श्रेणीमा परेका क्रिकेटरहरु भन्दा राम्रो छ।

२०१९ मा राष्ट्रिय टिमको सबै प्रतियोगिता खेलेका सोमपालले २०२० मा ढाडको चोटको कारण इस्टर्न रिजन टि-२० र विश्वकप लिग-२ को खेल गुमाएका थिए। गत वर्ष जनवरीमा युएई बिरुद्ध वानडे सिरिजको खेलमा ५ विकेट लिंदै नेपालको पहिलो अन्तर्राष्ट्रिय सिरिज जितमा अहम योगदान दिएका सोमपालले उक्त सिरिजमा ३ वटा वानडेमा ७ विकेट तथा ३ वटा टि-२० मा ४ विकेट लिएका थिए भने ब्याटबाट पनि योगदान दिएका थिए।

सिरिजको निर्णायक वानडे जित्दा सोमपालले अविजित २६ रन बनाउदै मुस्किल अवस्थामा ४ विकेटको जितमा अहम योगदान दिएका थिए। साग क्रिकेटमा बंगलादेशसंग टिमले लज्जास्पद स्कोर बनाउदा सोमपालले १० आउँ नम्बरमा आएर ३९ रन बनाउदै लाज ढाकेका थिए। एमसीसी बिरुद्ध तिन दिवसीयमा सोमपाल मात्र अर्धशतक बनाउने ब्याट्सम्यान थिए।

राष्ट्रिय टिमको लागि सबैभन्दा बढी योगदान दिने तथा आधा दशक बढी नियमित खेल्ने क्रिकेटर सोमपाललाई ‘बि’ श्रेणीमा झार्नुको पछाडी क्यानसंग कुनै जवाफ छैन। किनकि २०२० कै आधारमा छनौट गरिएको मान्ने हो भने ‘ए’ श्रेणीमा राखिएका भेट्रान स्पिनर बसन्त रेग्मीले सन्त रेग्मीले २०१९ जुलाईमा टि-२० विश्वकप पछि राष्ट्रिय टिमबाट खेलेकै छैनन्।

बसन्तलाई गत महिना २०१९ को तलव दिंदा गरिएको वर्गीकरणमा भने ‘बि’ श्रेणीमा राखिएको हो। यस अघि के कारणले ‘बि’ श्रेणीमा राखियो र फेरी अहिले कसरी ‘ए’ श्रेणीमा राखियो यसको पछाडीको कारण स्पष्ट छैन।

अविनाश बोहरा ‘सी’ श्रेणीमा पवन र सुशन ‘बि’ श्रेणीमा ?
२०१९ मा युएई बिरुद्ध टि-२० सिरिजमा डेब्यु गर्दै पहिलो सिरिजमै प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका बोहराले नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिजमा अहम योगदान दिए। त्यसपछि बोहरा नियमित राष्ट्रिय टिममा स्थान बनाउदै आएका छन्। यो वर्ष विश्व कप लिग-२ तथा इस्टर्न रिजन टि-२० मा ३ खेलमा उनले ४ विकेट लिए। राष्ट्रिय टिमका नियमित क्रिकेटरलाई ‘सी’ श्रेणीमा राख्ने निर्णय चित्त बुझ्दो छैन।

नियमित क्रिकेटर अविनाश ‘सी’ श्रेणीमा झर्दा २०१९ सेप्टेम्बरमा टि-२० डेब्यु गरेका देब्रे हाते स्पिनरलाई भने ‘बि’ श्रेणीमा राखिएको छ। ‘बि’ श्रेणीमा सोमपाल, सुशन, आरिफ र पवन सर्राफ छन्। २०१९ मा डेब्यु गरेका सर्राफले अझै पनि राष्ट्रिय टिमको पहिलो रोजाईका क्रिकेटर हैनन्। अविनाश बोहरालाई ‘सी’ श्रेणीमा राखेर सराफलाई ‘बि’ मा राख्नु पछाडी पनि कारण स्पष्ट छैन।

पुरुष क्रिकेटरहरुको वर्गीकरण र मासिक तलव :
ग्रेड ‘ए’ ( ५० हजार मासिक ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी , बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने
ग्रेड ‘बि’ ( ४० हजार मासिक ) : सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सराफ
ग्रेड ‘सी’ ( ३० हजार मासिक ) : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी र राशिद खान

महिला क्रिकेटमा झनै लापरवाही

क्यानले महिला क्रिकेटको पहिलो पटक वर्गीकरण गरेका छन तर वर्गिकरणमा चरम लापरवाही देखिएको छ। नेपाली महिला टिमले २०२० मा कुनै पनि प्रतियोगिता खेलेको छैन। २०१९ मा २ वटा मात्र प्रतियोगिता खेलिएको थियो। डिसेम्बरमा साग महिला क्रिकेट तथा फेब्रुअरीमा टि-२० विश्वकप एसिया रिजन छनौट प्रतियोगिता महिला राष्ट्रिय टिमले खेलेको थियो।

तर अचम्मको कुरा के छ भने उक्त २ वटा प्रतियोगितामा स्थान बनाएकी तथा नियमित सदस्य ममता चौधरी वर्गीकरणमै परिनन्। नियमित फास्ट बलर सोनु खड्कालाई ‘सी’ श्रेणीमा राखिएको छ। साग क्रिकेटमा डेब्यु गरेकी शान्ति खतिवडा, सागमा टिममा रहँदै ३ खेल खेलेकी सरस्वती चौधरी पनि वर्गीकरणमा छैनन्।

२०१९ मा टिममा नपरेकी शोभा आले ‘सी’ श्रेणीमा छिन् जुन श्रेणीमा सागमा विश्व कीर्तिमान बनाएकी क्रिकेटर अन्जली चन्दलाई पनि राखिएको छ। २००९ देखि नियमित राष्ट्रिय टिमको सदस्य रहँदै आएकी सरिता मगरलाई ‘बि’ श्रेणीमा राखिएको छ। ‘ए’ श्रेणीमा कप्तान रुबिना क्षेत्री सहित, इन्दु बर्मा, सिता राना मगर , करुणा भण्डारी र नेरी थापा रहेका छन्। नेरीले २०१९ फेब्रुअरीमा विश्वकप छनोट एसिया रिजन खेलेकी थिईन् भने साग क्रिकेटमा टिममा थिईनन्।

तर दुवै प्रतियोगितामा टिममै नरहेका रितु कनोजिया र ज्योति पाण्डे भने ‘बि’ श्रेणीमा छन्। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेकी कबिता जोशीलाई ‘बि’ श्रेणीमा राखिएको छ। राष्ट्रिय टिमको लागि २०१९ मा डेब्यु गर्दै २ खेल मात्र खेलेकी बिन्दु रावललाई ‘बि’ श्रेणीमा राखिएको छ।

महिला खेलाडीहरुको क्यानले गरेको श्रेणी बिभाजन र मासिक तलव

ग्रेड ‘ए’ ( मासिक १५ हजार ) : रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी
ग्रेड ‘बि’ ( मासिक १२ हजार ) : ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर
ग्रेड‘सी’ ( मासिक १० हजार ) : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, अञ्जली चन्द, सोभा आले,सोनु खड्का


5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments