पन्जाबको लगातार पाँचौ हार, रोमान्चक खेलमा कोलकाताको जीत

युएईमा जारि आईपीएल २०२० अन्तर्गत अत्यन्त रोमान्चक रहेको खेलमा पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले चौथो जित दर्ता गरेको छ। २ रनको जित कोलकाताको लिग इतिहासकै संयुक्त रुपमा सबैभन्दा कम रन अन्तरको जित हो। यस अघि २०१४ मा कोलकाताले बैंगलोरलाई युएईमै शारजाह मैदानमा २ रनले पराजित गरेको थियो।

कोलकाताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो। पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाउने क्रममा ५८ बलमा ६ चौका प्रहार गरे। यस्तै मायाँक अग्रवालले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

१७ ओभरमा १४३/१ को अवस्थामा जित सहज देखिएता पनि १० बलमा २ चौका र १ छक्का मद्दतले १६ रन बनाएका पुरनलाई १८ औं ओभरमा सुनिल नारायणले बोल्ड गरेपछि कोलकाता खेलमा हावी भयो। १८ औं ओभरमा नारायणले मात्र २ रन खर्चेर १ विकेट लिए जसपछि पन्जाबलाई २ ओभरमा जित्न २० रन आवस्यक रह्यो।

१९ औं ओभरमा प्रशिध कृष्णले चौथो र पाँचौ बलमा क्रमशः शिमरन सिंहलाई ( ४ रन ) क्याच आउट तथा कप्तान राहुललाई बोल्ड गर्दै कोलकातालाई खेलमा फर्काए। ओभरमा उनले मात्र ६ रन खर्चेर २ विकेट लिए। अन्तिम बलमा म्याक्सवेलले चौका प्रहार गरेता पनि जित दिलाउन सकेनन्।

कोलकाताको लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५८ रन बनाए जुन क्रममा २९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस अघि ५ खेलमा ४९ रन बनाएका कार्तिक लयमा फर्कने क्रममा सिजनको पहिलो अर्धशतक बनाएका हुन्। लिग करियरमा कार्तिकको १९ औं अर्धशतक हो।

यस्तै ओपनर शुबमन गिलले लिगमा दोश्रो अर्धशतक बनाउने क्रममा ४७ बलमा ५ चौका मद्दतले ५७ रन बनाए। लिग करियरमा गिलको यो छैठौं अर्धशतक हो। गिलले यस अघि सनराइजर्स हैदरावाद बिरुद्ध ७० रन बनाएका थिए। ओएन मोर्गनले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गिलले एक किनार सम्हालीरहे जुन क्रममा चौथो विकेटको लागि कप्तान दिनेश कार्तिकसंग ९१ रनको उत्कृस्ट साझेदारी गरे। १८ औं ओभरमा गिललाई मन्दिप सिंहले रन आउट गर्दै साझेदारी तोडे। गिलको विकेट लगत्तै ओभरमा आन्द्रे रसेललाई अर्शदिप सिंहले क्याच आउट गराए। कप्तान कार्तिक इनिंगको अन्तिम बलमा रन आउट हुन पुगे।

आफ्नो दोश्रो खेलमा बैंगलोरलाई पराजित गरेपछि लगातार ४ खेलमा पराजित भएको पन्जाबको यो लगातार पाँचौ हार हो। हारपछि पन्जाब ७ खेलमा १ जित र ६ हार पछि २ अंक सहित आठौँ स्थानमा रहेको छ।

जितपछि कोलकाता तेश्रो स्थानमा उक्लेको छ जसको ६ खेलमा ४ जित र २ हार पछि ८ अंक रहेको छ। समान ८ अंक रहेता पनि मुम्बई नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा रहेको छ। दिल्ली १० अंक सहित पहिलो स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments