सुपर ओभर नै बराबरी दोश्रो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा पन्जाबले दोश्रो सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। पन्जाबले शिर्ष-४ प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ। एकै दिनको २ खेलको नतिजा सुपर ओभरमा आएको हो। यस अघि पहिलो खेल पनि सुपर ओभरमा कोलकाताले हैदरावादलाई पराजित गर्दै जितेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पन्जाबले पहिले ब्याटिंग गर्दै ५ रन बनाएको थियो।

६ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ रन मात्र बनाउन सकेपछि खेल दोश्रो सुपर ओभरमा पुगेको थियो। दोश्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पन्जाबले ४ बलमै पुरा गर्दै सनसनीपूर्ण जित दर्ता गर्यो।

टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। मुम्बईको लागि ओपनर क्विन्टन डीककले लगातार तेश्रो तथा सिजनको चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५३ रन बनाए जुन क्रममा ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

क्रुनाल पान्ड्याले ३० बलमा ३४ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का हिर्काए। अविजित रहने क्रममा काइरन पोलार्डले मात्र १२ बलमा ३४ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका हिर्काए। यस्तै नाथन कौल्टर नाइलले १२ बलमा अविजित २४ रन बनाए जुन क्रममा ४ चौका हिर्काए।

मुम्बईको सुरुवात खराब रह्यो। तेश्रो ओभरमा अर्शदिप सिंहले ९ रन बनाएका रोहित शर्मालाई बोल्ड गरे। त्यसपछि चौथो ओभरमा मोहम्मद शामीले सुर्यकुमार यादवलाई खाता नखोल्दै क्याच आउट गराए। छैठौं ओभरमा ७ रन बनाएका इशान किशनलाई सिंहले क्याच आउट गराए।

पोलार्ड र नाइलले १८ औं ओभरमा अर्शदिप सिंहको ओभरमा २२ रन बटुल्दै टिमको योगफल ह्वात्तै बढाए। ओभरको पहिलो २ बलमा पोलार्डले छक्का हिर्काए भने तेश्रो र चौथो बलमा नाइलले चौका हिर्काए। १९ औं ओभरमा मोहम्मद शामीले १२ रन दिए जुन ओभरमा नाइलले २ चौका हिर्काए। अन्तिम ओभरमा क्रिस जोर्डनले २० रन खर्चिए। यस क्रममा पोलार्डले २ छक्का र १ चौका हिर्काए।

मुम्बई ले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ६ विकेट गुमयेअर १७६ रननै बनाएको थियो। पन्जाबको लागि कप्तान केएल राहुलले लिगको पाँचौ तथा लगातार तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७७ रन बनाए। उनले ५१ बलमा ७ चौका र ३ छक्का हिर्काए।

क्रिस गेल र निकोलस पुरनले समान २४ रन बनाए। गेलले २१ बलमा १ चौका र २ छक्का तथा पुरनले १२ बलमा २ चौका र २ छक्का हिर्काए। दिपक हुडाले अविजित १६ बलमा २३ रन बनाए जुन क्रममा १ चौका र १ छक्का हिर्काए। क्रिस जोर्डनले ८ बलमा २ चौका मद्दतले १३ रन बनाए।

१८ औं ओभरको तेश्रो बलमा बुम्राहले राहुललाई बोल्ड गर्दै मुम्बईलाई पुनः खेलमा फर्काए। उक्त ओभरमा बुम्राहले मात्र ५ रन खर्चिए। अन्तिम २ ओभरमा जित्न पन्जाबलाई २२ रन आवस्यक रह्यो। १९ औं ओभरमा नाथन कौल्टर नाइलको ओभरमा हुडा र जोर्डनले १/१ चौका प्रहार गरे जुन ओभरमा १३ रन आयो। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक रह्यो।

अन्तिम ओभर बलिंग गर्न बोल्ट आए। पहिलो बलमा हुडाले १ रन लिए। दोश्रो बलमा जोर्डनले ब्याटको भित्रि किनारा लाग्दा फाइन लेगमा चौका प्रहार गरे। जितको लागि ४ बलमा ४ रन आवस्यक रह्यो। तेश्रो बलमा जोर्डनले १ रन लिए। चौथो बलमा बोल्टले योर्कर गर्दै डट बल गरे जसपछि जित्न २ बलमा ३ रन आवस्यक रह्यो। पाँचौ बलमा हुडाले १ रन लिए। अन्तिम बलमा जित्न २ रन आवस्यक रह्यो। अन्तिम बलमा २ रन लिने क्रममा जोर्डनलाई पोलार्डले रन आउट गरे जसपछि खेल सुपर ओभरमा पुग्यो।

पहिलो सुपर ओभर
सुपर ओभरमा पन्जाबले ब्याटिंगमा निकोलस पुरन र केएल राहुललाई सुरुवात गर्न पठायो। मुम्बईले जस्प्रित बुम्राहलाई बलिंग दियो। बुम्राहको पहिलो बलमा राहुलले १ रन लिए। दोश्रो बलमा पुरनलाई अनुकुल रोयमार्फत बुम्राहले क्याच आउट गराए।

तेश्रो बलमा राहुलले पुनः १ रन लिए। चौथो बलमा दिपक हुडाले पनि १ रन लिए। पाँचौ बलमा राहुलले २ रन लिए। छैठौं बलमा बुम्राहले राहुललाई एलबिडब्लु आउट गरे। पन्जाबले ५ रन मात्र बनाउन सक्यो र मुम्बईलाई ६ रनको लक्ष्य दियो।

लक्ष्य पछ्याउने क्रममा मुम्बईले ब्याटिंगमा रोहित शर्मा र क्विन्टन डीककलाई पठायो भने पन्जाबले बलिंग मोहम्मद शामीलाई दियो। शामीले पहिलो ३ बलमा १/१ रन मात्र दिए। पहिलो र तेश्रो बलमा डीककले तथा दोश्रो बलमा रोहितले १ रन लिए। चौथो बलमा शामीको योर्करमा रोहितले रन बनाउन सकेनन्।

२ बलमा जित्न ३ रन आवस्यक रह्यो जुन बेला पाँचौ बलमा रोहितले १ रन लिए। अन्तिम बलमा जितको लागि २ रन अवाशय्क रह्यो। छैठौं बलमा डीकक दोश्रो रन लिनेक्रममा रन आउट भए जसपछि सुपर ओभर बराबरी हुन पुग्यो। पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोश्रो सुपर ओभरमा पुग्यो।

दोश्रो सुपर ओभर
पहिलो पटकको सुपर ओभरमा हिस्सा भएका खेलाडीहरुले दोश्रो पटक सुपर ओभरमा ब्याटिंग र बलिंग गर्न पाएनन्। त्यसैले दोश्रो सुपर ओभरमा मुम्बईले ब्याटिंगमा काइरन पोलार्ड र हार्दिक पान्ड्या तथा तेश्रो ब्याट्सम्यानको रुपमा सुर्यकुमारलाई राख्यो। पन्जाबको लागि क्रिस जोर्डनले बलिंग गरे।

जोर्डनको पहिलो बल योर्करमा पोलार्डले १ रन लिए। त्यसपछिको बल वाइड गरे। दोश्रो बलमा हार्दिकले १ रन लिए। तेश्रो बलमा पोलार्डले चौका हिर्काए। जसपछिको बलमा जोर्डनले पुनः वाइड दिए। त्यसपछि चौथो बलमा २ रन लिने क्रममा हार्दिक रन आउट हुन पुगे।

पाँचौ बलमा पोलार्डले रन बनाउन सकेनन् जुन बलमा अम्पायरले आउट दिए पनि रिभ्यु मागेपछि निर्णय फिर्ता भयो। छैठौं बलमा पोलार्डले २ रन लिए। मायाँक अग्रवालले बाउन्ड्रीमा उत्कृस्ट बचाउ गर्दै छक्का हुने बललाई २ रनमा परिणत गरे।

मुम्बईले कुल ११ रन बनाउदै पन्जाबलाई १२ रनको लक्ष्य दियो। पन्जाबले ब्याटिंगमा क्रिस गेल र मायाँक अग्रवाललाई पठायो भने मुम्बईले ट्रेन्ट बोल्टलाई बलिंग दियो। बोल्टले पहिलो बल फुल टस गरे जसलाई गेलले छक्का हिर्काए। दोश्र बलमा गेलले १ रन लिए। तेश्रो बलमा अग्रवालले चौका हिर्काए। चौथो बलमा अग्रवालले चौका हिर्काउदै टिमलाई जित दिलाए।

आईपीएल इतिहासमै एकै खेलमा २ पटक सुपर ओभर भएको यो पहिलो पटक हो भने एकै सिजन २ पटक भन्दा बढी सुपर ओभर भएको यो पहिलो पटक हो। लिग अन्तर्गत यस अघि पनि पन्जाबले दिल्लीसंगको खेल सुपर ओभरमा हारेको थियो। उक्त खेलमा पन्जाबले पहिले ब्याटिंग गर्दै मात्र २ रन बनाउन सकेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments