नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित
फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । योसँगै नेपालको अब विश्वकपमा छनौट हुने सम्भावना समाप्त भएको छ ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियम भएको खेलमा जोर्डनले पहिलो हाफमा १ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । जोर्डनका लागि बहा फैजलले दुई गोल गरेका थिए । उनले खेलको २३औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने खेलको ४८औ मिनेटमा फ्री-किकबाट गोल गरेका थिए ।
त्यस्तै खेलको ६७औ मिनेटमा जोर्डनका लागि याजन अल अरबले गोल गरेका थिए ।यो खेलपछि नेपालको फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अहिलेसम्म खेलेका ७ खेलमा २ जित र ५ हारसहित ६ अंक जोडेको छ भने समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।

योजितपछि जोर्डन ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै समुहमा अष्ट्रेलिया १५ अंक जोड्दै शीर्षस्थान छ भने कुवेतको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ६ खेलमा कुनै अंक छैन । अब नेपालले विश्वकप छनोट आफ्नो अर्को खेल जुन ११मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ ।