म्यान्चेस्टर सिटीको शानदार जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले लज्जास्पद हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।
बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैठौँ मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।२२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
४१औँ मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३-० को अग्रता दिलाए । ६६औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।
६९औँ मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो ।
जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औँ स्थानमा रहेको छ ।