राष्ट्रिय क्रिकेट टिमको कोरोना परीक्षण,६ खेलाडी अनुपस्थित
बुधबार देखि सुरु हुने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि सहभागी खेलाडीहरु, प्रशिक्षक तथा ग्राउण्ड स्टाफहरुको कोरोना परिक्षणको लागि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाडीहरुको स्वाव संकलन गरिएको छ।
कोभिड-१९ रिपोर्ट नेगेटिभ आएमा मात्र बन्दसत्रमा सहभागी हुन पाइने क्यानले बताइसकेको छ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ । ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिनेछ ।
स्टार अस्पतालले गरेको पिसिआर परिक्षणमा बोलाइएका २२ खेलाडी मध्य ६ जना भने अनुपस्थित रहेका छन् ।
अनुपस्थित ६ जना खेलाडीहरु शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, करन केसी, सन्दिप लामिछाने र कुशल मल्ल रहेका छन्। कुशल मल्लको हाल १२ कक्षाको परिक्षा चलीरहेकोले अनुपस्थित रहेका हुन् भने अन्य खेलाडीहरुले अत्यावश्यक व्यक्तिगत कारण देखाएको न्यौपानेले जानकारी गराए।
“अत्यावश्यक कारण देखाएर खेलाडीहरु अनुपस्थित हुन नसकेका हुन्। सबैले कारण सहित अनुपस्थितिको कारण बताएका छन्। ४-५ दिन र बढीमा १ साता भित्रमा बाँकी खेलाडीहरु बन्द प्रशिक्षणमा उपस्थित हुनेछन्।” न्यौपानेले बताए।

बुधबार बिहान कोभिड-१९ को रिपोर्ट आएपछि खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गर्नेछन्। रिपोर्ट नेगेटिभ आएमा मात्र खेलाडीहरु क्याम्पमा सहभागी हुनेछन्।
खेलाडीहरु गौशाला स्थित होटल शिभम प्लाजामा बसीरहेका छन् जो क्यानको बसबाट टियु मैदान जानेछन्। अभ्यासको दौरान टियु मैदान तथा होटल बाहिर जाने अनुमति खेलाडी र ग्राउण्ड स्टाफहरुलाई रहेको छैन। खेलाडीहरुको अन्य मनोरञ्जनको लागि भित्रै टेबलटेनिस, भलिबल, ब्याडमिन्टन जस्ता खेलहरुको पनि व्यवस्था गरिएको छ।
“आईसीसीले बताएको प्रोटोकलमा रहेर बन्द प्रशिक्षण संचालन हुनेछ। अभ्यासको दौरान टियु मैदानको गेट सिल हुनेछ। कोहि पनि खेलाडीहरु बाहिर निस्कन पाउने छैनन्। अति आवस्यक काम परेमा मात्र क्यानको अनुमतिमा खेलाडीहरु बन्द प्रशिक्षणबाट बाहिरिन पाउनेछन्।” होटलमा राष्ट्रिय टिमका सदस्यहरु मात्र बस्नेछन् जहाँ खेलाडीहरुको लागि सम्पूर्ण व्यवस्था गरिएको न्यौपानेले बताए।
बन्द प्रशिक्षणको पहिलो साता नेपाली टिमले हल्का अभ्यास बाट सुरु गर्नेछ। पहिलो चरणको बन्द प्रशिक्षणको दौरान टिमले मङ्सिरको अन्तिममा चितवनमा गएर अभ्यास खेल खेल्ने समेत योजना रहेको छ जसबारे अन्तिम निर्णय छिट्टै हुनेछ।
न्यौपानेका अनुसार डिसेम्बरको अन्तिममा प्रधानमन्त्री कप तथा त्यसपछि अन्तर्राष्ट्रिय टिमलाई नेपाल ल्याउने या नेपाली टिम समेत बाहिर टुरमा जान सक्ने विषयमा समेत छलफल भैरहेको छ।
क्यानले यस अघि भदौमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने बताएता पनि कोभिड-१९ का नेपालको २०२० मा आईसीसीको सबै खेल रद्द भएका कारण स्थगित भएको थियो। आईसीसीले आगामी सिरिजको खेलतालिका सार्वजनिक गरेको छैन।
नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।
बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा
