राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज सुरु नहुने

राष्ट्रिय क्रिकेट टिमको बुधबार ( मङ्सिर १० ) सुरु हुने भनिएको अभ्यास एक दिन ढिला बिहिबार ( मङ्सिर ११ ) सुरु हुने भएको छ। गत वर्ष चैत पछि पहिलो पटक एक साथ नेपाली टिम प्रशिक्षण गर्न लागेको हो।

बन्द प्रशिक्षणमा सहभागी खेलाडी, सपोर्ट स्टाफ तथा ग्राउण्ड स्टाफहरुको मंगलबार कोभिड-१९ परिक्षणको लागि स्वाव संकलन गरिएको थियो। परिक्षणको रिपोर्ट आज ढिला आउने हुँदा बुधबार प्रशिक्षण सुरु हुन नसकेको हो। रिपोर्ट नेगेटिभ आएमा मात्र खेलाडीहरु क्याम्पमा सहभागी हुनेछन्।

बुधबार गरिएको स्वाव संकलनमा बन्दप्रशिक्षणको लागि छनौट भएका २२ जना मध्ये १६ जना खेलाडी उपस्थित रहेका थिए। ६ जना खेलाडीहरु ( शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सन्दिप लामिछाने, करन केसी र कुशल मल्ल ) भने अत्यावश्यक व्यक्तिगत कारण देखाएर उपस्थित हुन सकेनन्।

कुशल मल्लको हाल १२ कक्षाको परिक्षा चलीरहेकोले अनुपस्थित रहेका हुन् भने अन्य खेलाडीहरुले अत्यावश्यक व्यक्तिगत कारण देखाएको न्यौपानेले जानकारी गराए।“अत्यावश्यक कारण देखाएर खेलाडीहरु अनुपस्थित हुन नसकेका हुन्। सबैले कारण सहित अनुपस्थितिको कारण बताएका छन्।

४-५ दिन र बढीमा १ साता भित्रमा बाँकी खेलाडीहरु बन्द प्रशिक्षणमा उपस्थित हुनेछन्।” न्यौपानेले बताए।खेलाडीहरु गौशाला स्थित होटल शिभम प्लाजामा बसीरहेका छन् जो क्यानको बसबाट टियु मैदान जानेछन्।

अभ्यासको दौरान टियु मैदान तथा होटल बाहिर जाने अनुमति खेलाडी र ग्राउण्ड स्टाफहरुलाई रहेको छैन। खेलाडीहरुको अन्य मनोरञ्जनको लागि भित्रै टेबलटेनिस, भलिबल, ब्याडमिन्टन जस्ता खेलहरुको पनि व्यवस्था गरिएको न्यौपानेले जानकारी गराए।

“आईसीसीले बताएको प्रोटोकलमा रहेर बन्द प्रशिक्षण संचालन हुनेछ। अभ्यासको दौरान टियु मैदानको गेट सिल हुनेछ। कोहि पनि खेलाडीहरु बाहिर निस्कन पाउने छैनन्। अति आवस्यक काम परेमा मात्र क्यानको अनुमतिमा खेलाडीहरु बन्द प्रशिक्षणबाट बाहिरिन पाउनेछन्।”

होटलमा राष्ट्रिय टिमका सदस्यहरु मात्र बस्नेछन् जहाँ खेलाडीहरुको लागि सम्पूर्ण व्यवस्था गरिएको न्यौपानेले बताए।बन्द प्रशिक्षणको पहिलो साता नेपाली टिमले हल्का अभ्यास बाट सुरु गर्नेछ। पहिलो चरणको बन्द प्रशिक्षणको दौरान टिमले मङ्सिरको अन्तिममा चितवनमा गएर अभ्यास खेल खेल्ने समेत योजना रहेको छ जसबारे अन्तिम निर्णय छिट्टै हुनेछ।

न्यौपानेका अनुसार डिसेम्बरको अन्तिममा प्रधानमन्त्री कप तथा त्यसपछि अन्तर्राष्ट्रिय टिमलाई नेपाल ल्याउने या नेपाली टिम समेत बाहिर टुरमा जान सक्ने विषयमा समेत छलफल भैरहेको छ।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी (उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की
प्रशिक्षक – जगत बहादुर टमाटा

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments