मैत्रीपूर्ण फुटबल खेल्न नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ ।२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।
नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ । केही सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएकाले यो पटक नेपाली टिममा नयाँ खेलाडीको बाहुल्य छ ।

चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।
नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।
बंगलादेश विरुद्ध खेल्ने २५ खेलाडी :
अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।
