क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झैता, कुन खेलाडीको कति तलब?
नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ। भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो। पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।

अघिल्लो वर्षको वर्गीकरणमा ग्रेड ‘बि’ मा राखिएका भेट्रान राष्ट्रिय क्रिकेटर बसन्त रेग्मीलाई नयाँ वर्गीकरणमा ‘ए’ ग्रेडमा राखिएको छ। रेग्मीले अन्तिम पटक राष्ट्रिय टिमको लागि गत वर्ष जुलाईमा टि-२० विश्वकप एसिया छनौट खेलेका थिए।

यस अघिको वर्गीकरणमा ‘ए’ ग्रेडमा रहेका फास्ट बलर सोमपाल कामिलाई भने ‘बि’ ग्रेडमा राखिएको छ। सोमपाल घाइते हुँदा यो वर्ष विश्वकप लिग-२ र एसीसी इस्टर्न रिजन टि-२० मा टिममा थिएनन्। अन्तिम पटक उनि गत वर्ष दक्षिण एसियाली खेलकुदमा टिममा रहेका थिए।

यस अघि ‘बि’ ग्रेडमा रहेका देब्रे हाते स्पिनर ललित राजबंशीलाई कुनै पनि श्रेणीमा राखिएको छैन। ललित राजबंशी यो वर्ष नेपालमा आयोजित विश्वकप लिग-२ मा टिममा रहेका थिए र अमेरिका बिरुद्ध अन्तिम-११ मा रहे पनि बलिंग भने गरेका थिएनन्। राजबंशी त्यस अघि गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुदमा टिममा रहेका थिए जुन क्रममा ४ खेलमा बलिंग गर्दा ६ विकेट लिएका थिए।

यस्तै ‘सी’ ग्रेडमा सुबास खकुरेललाई राखिएको छ। यो वर्ष विश्वकप लिग-२ मा शरद भेसावकर घाइते हुँदा राष्ट्रिय टिममा कम्ब्याक गरेका खकुरेल २०१९ को वर्गीकरणमा थिएनन्। यस अघि ‘सी’ ग्रेडमा रहेका इशान पाण्डे, कुशल भुर्तेल, प्रदिप ऐरी र राजु रिजाल भने ग्रेडबाट बाहिरिएका छन्।
गत महिना २०१९ को तलब वितरण गर्दा गरिएको वर्गीकरणमा रहेका ललित राजबंशी, राजु रिजाल, प्रदिप ऐरी, इशान पाण्डे, सन्दिप जोरा र कुशल भुर्तेल वर्गीकरणमा पर्न सकेनन्।
क्यानको निर्णयअनुसार ग्रेड ‘ए’ मा रहेका पुरुष क्रिकेटरले मासिक ५० हजार, ग्रेड ‘बी’ का क्रिकेटरले मासिक ४० हजार र ग्रेड ‘सी’ का क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउनेछन्।
पुरुष खेलाडको वर्गिकरण
ग्रेड ए– पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी
ग्रेड बी– सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सर्राफ
ग्रेड सी– सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा, कमलसिंह ऐरी
महिला खेलाडीको वर्गिकरण
क्यानले पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरहरुलाई पनि वर्गीकरण गरेको छ। कुल १९ जना महिला क्रिकेटरहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरीएको छ।
महिलातर्फ ए ग्रेडमा पर्ने खेलाडीले १५ हजार, बी ग्रेडमा पर्ने खेलाडीले १२ हजार र सी ग्रेडमा पर्ने खेलाडीले मासिक १० हजार पाउनेछन् ।
ग्रेड ए– रुबिना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सिता राना मगर, करुणा भण्डारी
ग्रेड बी– ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर
ग्रेड सी– कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले