आईपीएलको इतिहासमै चेन्नाई पहिलो पटक पहिलो चरणबाटै बाहिरियो
आईपीएलमा मुम्बईसंग १० विकेटले पराजित हुँदै चेन्नाई आईपीएल इतिहासमै पहिलो पटक प्लेअफ चरण पुग्न असफल भएको छ।चेन्नाई ५ पटक लिगको उपविजेता बनेको थियो त्यसबाहेक ५ सिजन अंकतालिकाको चौथो स्थान भित्र रहँदै प्लेअफ पुग्न सफल रहेको थियो।

३ पटक उपाधि जितेको तथा गत सिजनको उपविजेता टिम अंकतालिकाको पुछारमा यथावत रहेको छ। जितपछि १४ अंक सहित मुम्बई पहिलो स्थानमा उक्लेको छ।
टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो। चेन्नाईको लागि स्याम करनले करियरको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का प्रहार गरे।

कप्तान महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले अविजित १३ तथा शार्दुल ठाकुरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। १२ रन मुम्बईले अतिरिक्तको रुपमा दिएको थियो।
चेन्नाईले दिएको ११५ रनको लक्ष्य मुम्बईले विकेट नगुमाई १२.२ ओभरमै भेटायो। ओपनर इशान किशन र क्विन्टन डीककले ११६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

किशनले २८ बलमा अर्धशतक पुरा गर्दै जारि सिजन दोश्रो तथा करियरको पाँचौ अर्धशतक बनाए। यस क्रममा उनले अविजित ६८ रन बनाए जुन क्रममा ६ चौका र ५ छक्का प्रहार गरे। डीककले ३७ बलमा अविजित ४६ रन बनाए जुन क्रममा ५ चौका र २ छक्का प्रहार गरे।
