कोलकाताको लज्जास्पद हार, बैंगलोरको शानदार जीत

आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले सातौँ जित दर्ता गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले २ विकेट गुमाएर १३.३ ओभरमै पुरा गर्यो।

टस जितेर ब्याटिंग गरेको कोलकाताले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेको थियो। आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको यो सबैभन्दा कम योगफल हो। यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो।

११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो। बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो। यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३० रन बनाए। लकी फर्गुसनले अविजित १६ बलमा १९ रन, कुलदिप यादबले १२ रन तथा टम बान्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर शुब्मन गिल र राहुल त्रिपाठी समान १ रन बनाएर आउट भए भने नितिश रानाले खाता खोल्न सकेनन्। दिनेश कार्तिक र प्याट कमिन्सले समान ४ रन बनाए।

कोलकाताको इनिंगमा बैंगलोर बलर मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे। आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सर्वाधिक २५, गुरकिरात सिंहले अविजित २१ , बिराट कोहलीले अविजित १८ तथा आरोन फिन्चले १६ रन बनाए। ओपनर आरोन फिन्च र देभदत्त पडीक्कलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। सातौँ ओभरमा फिन्च र पडीक्कल आउट भएका थिए।

लकी फर्गुसनले फिन्चलाई क्याच आउट गराउदा पडीक्कल भने कमिन्सबाट रन आउट भएका थिए। तेश्रो विकेटको लागि कप्तान कोहली र गुरकिरत सिंहले अविजित ३९ रनको साझेदारी गर्दा टिमलाई जितसम्म पुर्याए। कोलकाताको बलिंगमा लकी फर्गुसनले १ विकेट लिए जुन क्रममा ३ ओभरमा १२ रन खर्चिए।

जितपछि १४ अंक बटुल्दै बैंगलोर दिल्लीलाई पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। नेट रन रेटमा दिल्ली अघि रहँदै पहिलो स्थानमा रहेको छ। १२ अंक सहित मुम्बई तेश्रो स्थानमा छ।१० खेलमा ५ हार र ५ जित बेहोरेको कोलकाता १० अंक सहित चौथो स्थानमा यथावत रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments