आर्मी बिरुद्ध ए पि एफको जीत
सुमित महर्जनको अर्धशतकको मद्दतमा विभागीय टोली एपीएफ काठमाडौं मेयर कप क्रिकेटमा विजयी भएको छ । टियू क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली आर्मीमाथी एक विकेटको जित निकालेको हो ।
आर्मीले दिएको २३६ रनको लक्ष्य पछ्याएको एपीएफले ४९.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ६० रन जोडे । उनले ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोडे । उनले बसन्त रेग्मीसँग ७१ रनको साझेदारी गरे ।
बसन्त अर्धशतक बनाउनबाट एक रनले चुके । ४९ रनमा खेली रहेका बसन्त करन केसीको बलमा भिम सार्कीले क्याच गरेपछि उनी अर्धशतक बनाउनबाट चुकेका हुन् । उनले ७९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४९ रन बनाए ।
त्यस्तै शंकर रानाले ३३ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रननाए । एपीएफको १६ रन हुँदा चार विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका सुमितसँग रानले ५२ रनको साझेदारी गरेका थिए । अमर रौटेलाले ३८ रनको योगदान दिए । उनले ३१ बलमा एक चौका र चार छक्का प्रहार गरे ।
त्यस्तै आसिफ सेखले १२ र भुवन कार्कीले १० रनको योगदान दिए । कमल ऐरी ४ र अभिनास बोहरा ७ रनमा अविजित रहे ।
बलिङतर्फ आर्मीका लागि बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले एक एक विकेट लिए ।
यसअघि रोहित पौडेललले अर्धशतकीय इनिङ खेल्दा आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन जोडेको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीका लागि पौडेलले ५६ रनको अर्धशतकीय इनिङ खेले । उनले ७८ बलमा तीन चौका प्रहार गर्दै ५६ रन जोडे । उनी कमल ऐरीको बलमा कप्तान शदर भेषस्वाकरको हातबाट क्याच आउट हुन पुगेका थिए ।
मध्यम सुरुवात गरेको आर्मीले पहिलो विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको थियो । २८ रनमा खेलीरहेका सोमपाल १५ औं ओभरको पाँचौ बलमा बसन्त रेग्मीको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुन पुगे ।
उनले ५३ बलको सामना गर्दै समान दुई चौका र छक्काको मद्दतमा २८ रन जोडेका हुन् । उनले पहिलो विकेटको रुपमा अर्को लोकश बमले ६१ रनको साझेदारी गरे ।
त्यस्तै दोस्रो विकेटको पुरुमा आर्मीले लोकेश बमलाई गुमायो । ३० रनमा खेलिरहेका बमलाई अमर रौटेलाको बलमा सुमित महर्जनले क्याच गर्दै पेभिलियन फर्काए । उनले ५१ बलमा ४ चौका प्रहार गर्दै ३० रनको योगदान दिएका हुन् ।
१८ रनमा खेलिरहेका भिम सार्कीलाई आर्मीले तेस्रो विकेटको रुपमा गुमायो । ३५ बलमा दुई चौका प्रहार गर्दै १८ रनमा खेलिरहेका भिम रौटेलाको बलमा सन्दीप जोराको हाताबाट क्याच आउट हुन पुगे ।
भिमको स्थानमा मैदान प्रवेश गरेका कप्तान विनोद भण्डारीले आर्मीको पारी सम्हाल्दै ४२ रनको योगदान दिए । उनले ४२ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४२ रन जोडेका हुन् । भण्डारीले रोहित पौडेलसँग चौथो विकेटको रुपमा ७१ रनको साझेदारी गरेका थिए ।
कुशल मल्लले ११, बिक्रम सोब ४, करन केसी २ र सुशन भारी हुन्य रनमा आउट भए ।
बलिङतर्फ एपीएफका लागि अभिनास बोहराले तीन विमेट लिए । त्यस्तै अमर रौटेला र भुवन कार्कीले दुई दुई विकेट लिए । बसन्त रेग्मी र कमल ऐरीले एक एक विकेट लिए ।