नेपालको मुख्य प्रशिक्षक को बन्ला, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची

राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक(जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)लाई पठाइएको जानकारी दिएका छन्। एक साताभित्र आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने छ।

एक प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ – “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ।” प्याकुरेलले बताए।

अब आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा ७७ जनाबाट छोट्याएर आईसीसीले दश जनाको सूची क्यानलाई पठाउने छ । दश जनाबाट थप ‘शर्टलिस्ट’ छ । प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन् ।

महासचिब प्याकुरेलका अनुसार आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइनेछ। अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिनेछ।

मुख्य प्रशिक्षकको लागि क्यानले ६० वर्ष मुनि उमेर भएको तथा कम्तिमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अस्ट्रेलियाको लेभल-३ को योग्यता हुनुपर्नेछ। यस्तै कम्तिमा ३ वर्ष आईसीसीको टेस्ट राष्ट्र, प्रथम श्रेणी टिम, एसोसिएट राष्ट्र र अन्तर्राष्ट्रिय क्रिकेट लिगमा प्रशिक्षण गरेको अनुभव हुनु पर्नेछ। यस्तै नेपाली क्रिकेटको राम्रो ज्ञान भएको तथा अंग्रेजी भाषा र कम्प्युटरमा समेत पोख्त हुनुपर्ने मापदण्ड तोकिएको छ।

संघले छनोट गरेको उम्मेदवारसँग एकवर्षको समयावधि राखेर अनुबन्धन गरिनेछ । गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि नेपालले नयाँ प्रशिक्षक पाएको छैन। मुख्य प्रशिक्षकविहीन रहेको नेपाली टोलिको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आएका छन्।

संघका कोषाध्यक्ष रोशन सिंहले उम्मेदवार छनोट भएपछि आपसी सहमतिमा तलब वा वर्षभरिको प्याकेजबारे निर्णय लिइने जानकारी दिएका छन्। यसअघि प्रशिक्षक रहनुभएका पटवाललाई सात हजार अमेरिकी डलर प्रति महिना दिने गरी नियुक्त गरिएको थियो।

महाप्रबन्धकमा पूर्वकप्तान बिनोद दासको समेत आबेदन 

त्यसैगरी नेपाल क्रिकेट संघको महाप्रबन्धक पदका लागि ४५ जनाको आवेदन परेको छ । संघका कोषाध्यक्ष सिंहले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान विनोद दासले समेत बोर्ड प्रबन्धकको लागि आवेदन दिनुभएको जानकारी दिनुभयो । पूर्बकप्तान दास यसअघि जुनियर टोलिको प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

वित्त अधिकारीका लागि ३५ जना र क्रिकेट प्रबन्धकका लागि पाँचजनाले आवेदन दिएका छन् । सात प्रदेशका सात जना स्थानीय प्रशिक्षकका लागि २१ जनाले आवेदन दिएको नेपाल क्रिकेट संघले जनाएको छ । महासचिब प्याकुरेलले भन्नुभयो, “महाप्रबन्धक, वित्त अधिकारी, क्रिकेट प्रबन्धक र स्थानीय प्रशिक्षकको टुंगो नेपाल क्रिकेट संघले नै लगाउनेछ ।”

“आवेदन परेको प्रदेशका स्थानीयलाई नै प्रदेश प्रशिक्षकको जिम्मेवारी दिइने गरी तयारी गरिएको छ ।” कोषाध्यक्ष सिंहले बताउनुभयो । प्रमुख प्रशिक्षक बाहेकको सबै पदका लागि नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड तोकिएको छ । नेपाल क्रिकेट संघले आफ्नो वेबसाइटसँगै एशियाली क्रिकेट संघ र आईसीसीको वेबसाइटमा प्रमुख प्रशिक्षक पदका लागि आवेदन आव्हान गरेको थियो । संघले सेप्टेम्बर २३ सम्मको म्याद राखेर आवेदन आव्हान गरेको थियो ।

( साभार – गोरखापत्र )

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments