CPL T20: सन्दीपको राम्रो बलिंग तर जमैका पराजित

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा जमैका तलावाजलाई सेन्ट लुसिया जुक्सले ११ रनले पराजित गरेको छ।खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। 
लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि ओपनर ग्लेन फिलिप्सले उत्कृस्ट लय कायमै राख्ने क्रममा सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३६ बलमा उनले ४ चौका र १ छक्का हिर्काए। पहिलो विकेटको लागि उनले जर्माइन ब्ल्याकवुडअंग ८४ रनको साझेदारी गरे। ब्ल्याकवुडले २५ रन बनाए।

अफगानिस्तानका चाइनाम्यान बलर जाहिर खानले फिलिप्सलाई १२ औं ओभरमा तथा १४ औं ओभरमा रोभम्यान पावेल र आन्द्रे रसेललाई लगातार बलमा आउट गरेपछि सेन्ट लुसिया खेलमा फर्केको थियो। रसेल खाता नखोली पहिलो बलमै आउट भए।  ८४/० बाट जमैका १०३/७ को अवस्थामा पुगेको थियो।

त्यसपछि निकोलस किर्टोनले तल्लो क्रममा २५ रन ( १५ बलमा १ चौका र २ छक्का ) बनाउनु बाहेक अन्य जमैका ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। सन्दिप लामिछाने पहिलो बलमा खाता नखोली केसरिक् विलियम्सबाट क्याच आउट भए।

सेन्ट लुसियाको बलिंगमा जाहिर खान ( ४-०-२५-३ ) र जाभेले ग्रिनले ( ४-०-१६-३ )  समान ३ विकेट तथा केसरिक् विलियम्सले २ विकेट ( ४-०-२७-२ ) लिए।
यो संगै प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ।  जमैकाले १० खेल खेल्दा मात्र ३ जित हात पार्न सकेता पनि अंकतालिकामा चौथो रहँदै सेमीफाइनलमा भने पुग्न सफल भयो। नतिजाविहिन रहेको १ खेलबाट प्राप्त गरेको १ अंक जमैकाको लागि फाइदाजनक रह्यो। उक्त अंक नभएको भए पाँचौ स्थानमा रहेको बार्बेडोससंग जमैकाको बराबर ६ अंक हुने थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments