घरेलु मैदानमा लिभरपुल पराजित, बायर्न र रियलको जीत
ईएफए च्याम्पियन्स लिगमा लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा इंग्लिस च्याम्पियन लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो ।
६०औँ मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए ।त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे ।
हारपछि पनि लिभरपुल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । एट्लान्टा सात अंकसहित तेस्रो स्थानमा रहेको छ ।

जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
शत प्रतिशत जितको नतिजा कायम राख्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५औँ जित निकालेको बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकाल्यो । बायर्न म्युनिख को जीतमा रोबर्ट लेवान्डोस्की, कोमान र लेरोय सानेले गोल गरेका थिए।

त्यस्तै स्पानिस क्लब रियल म्याड्रिडले पनि आफ्नो खेल जितेको छ। रियल म्याड्रिडले इटालियन क्लब ईन्टर मिलनलाई २-०को गोल अन्तरले पराजित गरेको हो। रियलको जीतमा ईडेन हाजर्डले एक गोल गरेका थिए भने अर्को गोल रियल म्याड्रिडले उपहार पायो। इन्टरका हाकिमीले आत्मघाती गोल गरेका थिए।
