सन्दीप सम्मिलित जमैका पराजित

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत आफ्नो नवौं खेलमा जमैका तलावाज बार्बेडोस ट्राइडेन्ट्ससंग ७ विकेटले पराजित हुन पुगेको छ। ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा सम्पन्न खेलमा जमैकेले दिएको १६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो।

बार्बेडोसको जितमा कप्तान जेसन होल्डरले शानदार ब्याटिंग गर्दै ६९ रन बनाए जुन क्रममा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै जोनाथन कार्टरले ४४ बलमा ४ चौका मद्दतले अविजित ४२ रन बनाए। मिचेल स्यान्टनरले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए।

१७ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो विकेटको लागि होल्डर र कार्टरले ८० रनको साझदारी गरेका थिए। होल्डरलाई सन्दिप लामिछानेले १३ औं ओभरमा एलबिडब्लु आउट गरेर साझेदारी तोडेपछि पनि कार्टरले एक किनार सम्हालीरहे र स्यान्टनरसंग अविजित ५२ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

जमैकाको बलिंगमा ओशेन थोमस ( ४-०-३६-१ ) , प्रेस्टन म्याकस्विन ( ३-०-३९-१ ) र सन्दिप लामिछानेले ( ४-०-२६-१ ) समान १/१ विकेट लिए। मुजिब उर् रहमान लगातार तेश्रो खेलमा विकेटविहिन रहे।

सन्दिपको राम्रो प्रदर्शन जारि 

लिगमा लगातार नवौं खेलमा राम्रो लय जारि राख्ने क्रममा सन्दिपको पुनः हात खालि भएन। टिमका अन्य बलर भन्दा निकै किफायती बलिंग गरेका सन्दिपले ४ ओभरमा २६ रन खर्चिए। त्यसक्रममा सन्दिपले बार्बेडोस तथा वेस्टइन्डिज टिमका वर्तमान कप्तान जेसन होल्डरको विकेट लिए।
बार्बेडोससंग १ विकेट लिएपछि ११ विकेट लिएसंगै सन्दिप धेरै विकेट लिने बलरको सूचीमा चौथो स्थानमा उक्लेका छन्। चौथो स्थानमा संयुक्त रुपमा सन्दिपसंगै ११ विकेट लिंदा नभिन उल हक, राशिद खान, केसरिक विलियम्स र मोहम्मद नाबी पनि रहेका छन्। लिगमा सबैभन्दा धेरै विकेट इमरान ताहिरले १५ विकेट लिएका छन्। दोश्रो धेरै स्कट कग्लेजिनले १४ तथा मुजिब उर् रहमानले १३ विकेट लिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments