थ्री नेशन्स कप फूटबलको उपाधि नेपाललाई

नेपालले थ्री नेसन्स कप फूटबलको उपाधि जितेको छ । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।

त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपाल च्याम्पियन बनेको हो । प्रधानमन्त्री केपी ओलीसमेत दर्शकका रुपमा उपस्थित भएको खेलमा नेपालले उत्कृष्ट खेल देखाएको थियो ।

नेपालको जीतमा संजोग राई र विशाल राईले गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए । घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रामक प्रदर्शन गरेको थियो । १८ औं मिनेटमा संजोगले गोल गर्दै नेपाललाई अग्रता दिलाए । कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बललाई उनले पोष्टको दिशा देखाएका थिए ।

मिडफिल्डर संजोगको यो डेब्यु गोल हो । उनले यहि शनिबार वंगलादेशविरुद्धको खेलबाट राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । उनको गोलले १८ महिना लामो गोलको खडेरी पनि तोडेको छ । त्यसअघि लगतार सात खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

३० औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलकिपर अघि बढेको अवस्थामा अन्जन विष्टको प्रहार पोस्ट माथिबाट गएको थियो । तर ४२ औं मिनेटमा विशालले गोल गर्दै नेपाललाई २(० को अग्रता दिलाए ।

रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले गोल गरेका थिए । विशालले राष्ट्रिय टिमका लागि गरेको यो चौंथो गोल हो । दोस्रो हाफमा बंगलादेशले खेलमा फर्कने प्रयास गर्‍यो । उसले निरन्तर पोष्टमा प्रहार गरेको थियो ।

८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरे । जमल भुयाको कर्नर बलमा उनले उत्कृष्ट हेड गोल गरे । तर त्यसपछि वंगलादेशका प्रहार सफल भएनन र नेपाल विजयी भयो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर पाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments