लिभरपुलको सानदार जित, सिटी लिग कपको अर्को चरणमा
इङलिस प्रिमियर लिग क्लब लिभरपुलले लिंकन सिटीलाई हराउदै इङलिस लिग कपको अर्को चरणमा पुगेको छ। बिहिबार राती भएको खेलमा लिभरपुलले ७-२ को फराकिलो जित दर्ता गरेको हो।

लिंकनको मैदानमा भएको खेलमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र कार्टिज जोन्सले समान २ गोल गर्दा शाकिरी, मार्को गुज्रिक र ओरिगीले एक एक गोल गरे। खेलको नवौ मिनेटमा शाकिरिको गोलमा अग्रता लिएको लिभरपुलले १८ औ मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। ३२ औ र ३६ औ मिनेटमा कार्टिज जोन्सले दुई गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४ गोलको अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवातमै ताकुमी मिनामिनोले गोल गर्दा लिभरपुल ५ गोलले अगाडी बढेको थियो। यस्तै ६५ औ मिनेटमा मार्को गुज्रिक र ८९ औ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए। लिंकनको लागि ६० औ मिनेटमा टायो इडिउन र ६७ मिनेटमा लिउस मान्टोसमाले गरेको गोल सान्त्वनामा सिमित भयो।

यस्तै अर्को खेलमा आफ्नो पहिलो रोजाइको खेलाडी बिना मैदान उत्रीएको म्यान्चेस्टर सिटीले बोर्नमाउथलाई २-१ ले हराउदै अर्को चरणमा प्रवेश गरेको छ। सिटीको जितमा लियाम डिलेप, फिल फोडानले गोल गरे।

