सन्दिप लामिछानेलाई कोरोना संक्रमण
राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ।राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि कोरोना परिक्षण गराएका सन्दिपको रिपोर्ट पोजेटिभ आएको हो।
सन्दिप राष्ट्रिय टिमले मंगलबार गरेको पहिलो परिक्षणमा अनुपस्थित रहेका थिए।सन्दिपले ट्वीटर मार्फत आफुलाई कोरोना भएको र बुधबार देखि त्यसको लक्षण देखिएको बताएका छन्।“सबैलाई यो बताउनु मेरो दायित्व हो कि मेरो कोभीड-१९ टेस्ट पोजेटिभ आएको छ। मेरो शरीर बुधबार देखि केहि दुखेको थियो।” सन्दिपले लेखेका छन्।
सन्दिपले आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको बताउदै चाडै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् –“तर, मेरो स्वास्थ्य हाल केहि सुधार भएको छ। यदी राम्रो भएको खण्डमा पुनः मैदानमा उत्रनेछु। मेरो लागि प्रार्थना गर्नु होला।”कोरोना संक्रमण देखिएपछि सन्दिप सेल्फ आइसोलेसनमा बस्नेछन् जसपछि रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै बन्द प्रशिक्षणमा समाबेश हुन पाउनेछन्।

सन्दिप डिसेम्बर दोश्रो साता बिग ब्यास लिग खेल्नको लागि अस्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ। त्यस अघि उनि नेपाली टिमको बन्द प्रशिक्षणमा केहि दिन सहभागी हुन लागेका थिए। उनलाई यो सिजन होबार्ट हरिकेन्सले टिममा लिएको छ।