सनराइजर्स हैदरावादको पहिलो जितमा चम्किए राशिद,दिल्ली पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। मंगलबार शेख जायद रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको सनराजर्स हैदरावादले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतीमा १६२ रन बनाउन सक्यो।

हैदरावादको लागि ब्रेस्टोले ४८ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे। वार्नरले ३३ बलमा ४५ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि ब्याटिङमा आएका मनिस पाण्डे ३ रनम आउट भए। केन विलियम्सनले २६ बलमा ५ चौकाको सहयोग ४१ रन जोड्दै हैदरावादको इनिङ्स उकासे। दिल्लीको लागि रबडा र अमित मिश्राले समान २-२ विकेट लिए।

१६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतीमा मात्र १४७ रन बनाउन सक्यो। इनिङसको सुरुवातमै पृथ्वि सहलाई २ रनमा गुमाएको दिल्लीले दोस्रो विकेटको रुपमा कप्तान श्रेयस आएरलाई गुमायो। कप्तान १७ रन बनाएर आउट भए। यस्तै अर्का ओपनर शिखर धवन ३१ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेर आउट भए।

१६ ओभरको पहिलो बलमा हेटमायर भुवेश्वर कुमारको बलमा आउट भए। उनले १२ बलमा २ छक्का सहित २१ रन जोडे। यस्तै आर्को ओभरमा रिशव पन्त २८ रन जोडेर आउट भए। उनले २७ बलामा २ छक्का र १ चौका सहित २८ रन जोडे। मार्कुस स्टोनिसले ११ र रबडाले १५ रनको योगदान गरेपनि टोलिलाई जित दिलाउन सकेनन्।

सनराजर्सको लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिदा भुवेश्वर कुमारले २ विकेट लिए। यस्तै खलिल अहमद र नतार्जनले १-१ विकेट लिए।
