किरण चेम्जोङको सरकारलाई खुला पत्र: खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले सबै क्षेत्र ठप्प बनाएको छ। अन्य क्षेत्रहरुले सामान्य स्थितिमा फर्किने प्रयास गरिराख्दा खेलकुद क्षेत्र भने अझैपनी ठप्प छ।
खेलकुदको एक पाटो फूटबल अहिले न्यून अवस्थामा पुगेको छ।
अखिल नेपाल फूटबल संघ(एन्फा) ले प्रशिक्षण र खेल खेलाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा निवेदन दिएको थियो तर कुनै जवाफ आएन। खेलाडी समर्थकहरुले सरकार र राष्ट्रिय खेलकुद परिषद(राखेपा) प्रती चौतर्फी आक्रोश पोख्न थालेका छन्।
देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला फिल्म, म्युजिक भिडियोको सुटिङको लागि भाडामा दिने सरकार खेल, प्रशिक्षण सुचारु गर्न भने आनकानी गरिराखेको छ। नेपाली राष्ट्रिय फूटबल टोलिका कप्तान तथा गोलकिप्पर किरण चेम्जोङले खेलकुद गतिविधि सुचारु गर्न माग गर्दै सरकार र राष्ट्रिय खेलकुद परिषदलाई खुला पत्र लेखेका छन्।

मंगलबार फेसबुकमार्फत सम्पुर्ण खेल र खेलाडीको प्रतिनिधित्व गर्दै उनले खेल ठप्प हुनाले खेलाडी भविष्य अन्धकार रहेको बताएका छन्।
किरणले लेखेका छन्, “आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारज्यूलाई सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलीका तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्याक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुरु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण रुपमा सुरु गर्न अनुरोध गर्दछु।” उनले सरकारलाई प्रश्न गरेका छन्, “किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैं मर्नैपर्ने हो ? मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?”
उनले थपे, “फूटबलमा भविष्य खोज्ने भाइबैनीहरुमा कतिको असर परेको छ भने कुरा प्रस्ट देख्न सकिन्छ । धेरैजसो देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन। दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोका लागि प्रवेश खुला हुने । फूटबलका लागि खेल्न चैं किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदान मा खेल सुरु गरिदिन अनुरोध गर्दछु ।”
उनले खेलाडीको भविष्यको बारेमा बोल्दै भने, “७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ । जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो ऊ त आजभोलि खेल मैदान छाडेर विदेश पो जाँदै छ त । लाज हुने कुरा होइन ? जय देश, जय नेपाली फुटबल ।”

किरणलाई साथ दिदै नेपाली राष्ट्रिय महिला फुटबलर तथा फर्वाड साबित्रा भण्डारीले फुटबल तथा खेलकुद सुचारु गर्न अपिल छिन्। साबित्राले पनि फेसबूकमा स्टाटस लेख्दै खेलकुदका गतिबिधीहरु सुचारु गर्न अपिल गरेकी छिन्।
साबित्रा लेख्छिन: “म राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य साबित्रा भण्डारी मेरो आफ्नो व्यक्तीगततर्फबाट र एन्फाकोतर्फबाट सरकारलाई के सम्झाउन चाहान्छु भने फुटबल मात्रै नभएर सम्पुर्ण खेलकुद सुचारु गर्न किन एकान दुकान गर्दै हुनुहुन्छ? के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले आपनो संघसंस्था सदाकालागी बन्द गरेर आआफ्नो इलम गर्दा हुन्छ। खेलाडी भने सधैं काठमान्डौको धुलोमा तपाईंहरु चाँही चिल्लो गाडीमा। राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्का व्यक्ति र नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले पनि चिनाउने गरेका छन्। तर यतीका महीना खेलाडी खेलकुद कुन मा छ दुुरदर्शामा छन् भन्ने कुरा जिम्मेवार निकायको चासोको विषय नबनेको देख्दा फुटबलमा भबिष्य खोज्ने भाई बहीनीहरुमा कतिको असर परेको छ भने कुरा खुलस्त रुपमा देख्न सकिन्छ। सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि मेरो देशमा खेलकुदको विषयमा न खेलाडी बोलेका छन् न वरिष्ठ ब्यक्ती, एन्फा खेलाडीका लागि होइन आफ्नो लागी मात्र सोच्छ। खेलाडीको तलब भत्ताको त कुरा छोडौं एउटा बल बोइ सम्म राख्न सकेको छैन। खेलाडीलाई एउटा गतिलो पोसाक दिन सकेको छैन। सबै देशमा फूटबल सुरु भैसक्दा पनि मेरो देसमा खेलमैदानको लागि दुखद घडीमा बनाएको रंगशालामा फिल्मको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला छ तर राष्ट्रिय टोली अभ्यास गर्न प्रवेश बन्द छ। आखिर कैलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको विकासका लागि कसैले केही गरिरहेको देखिन्न। फूटबल खेलाडीले खेल्न बिर्सी सके। सरकार फूटबल राजनिती जस्तो होइन बोलेर मख्ख पार्न फूटबलमा हात खुट्टा र दिमाग लगाएर खेल्ने गरिन्छ चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न। २ खुट्टा चलाएर घर परिवार हेर्नूपर्ने हुन्छ ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपुर्ति कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउँथ्यो उ त आज भोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ यस्तै अवस्था रहिरहे कुनै दिन म पनि विदेश जान बाध्य हुनेछु। यो त लाज हुने कुरा होइन र खेलकुदका पदाधिकारी राज्यका माननिय ज्यु। जय देश, जय देश, जय नेपाली फूटबल।”
