चेन्नाई सुपर किंग्सको शानदार जित

इन्डियन प्रीमियर लिग अन्तर्गत आज को खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले किंग्स-११ पन्जाबलाई १० विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नाईले विकेट नगुमाई १७.४ ओभरमै पुरा गरेको हो।

पन्जाबको लिगमा यो लगातार तेश्रो हार हो। पन्जाब पहिलो खेलमा दिलिसंग सुपर ओभरमा पराजित भएपछि बैंगलोरलाई दोश्रो खेलमा ९७ रनले पराजित गरेता पनि त्यसपछि राजस्थान र मुम्बईसंग पराजित भएको थियो।

चेन्नाईको जितमा ओपनर शेन वाटसन र फाफ डु प्लेसीले उत्कृस्ट प्रदर्शन गरे। वाटसनले सिजनको पहिलो अर्धशतक बनाउने क्रममा अविजित ८३ रन बनाए भने डु प्लेसीले सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा अविजित ८७ रन बनाए। वाटसनले ५३ बलमा ११ चौका र ३ छक्का तथा डु प्लेसीले ५३ बलमा ११ चौका र १ छक्का हिर्काए। आईपीएलमा वाटसनको यो २० औं तथा डु प्लेसीको १५ औं अर्धशतक हो।

वाटसन र डु प्लेसीले यस क्रममा नयाँ कीर्तिमान समेत कायम गरे। पहिलो विकेटको लागि १८१ रनको साझेदारी चेन्नाईको आईपीएल इतिहासकै पहिलो विकेटको लागि सर्वाधिक साझेदारी हो। मुरली विजय र माइक हसीले २०११ मा बैंगलोर बिरुद्ध गरेको १५९ रनको पहिलो विकेटको साझेदारीको रेकर्ड ९ वर्ष पछि टुटेको हो।

लिगमा यस अघि ४ खेलमा मात्र ५२ रन बनाएका वाटसनले शानदार पुनरागमन गरेका हुन्। शानदार लयमा रहेका डु प्लेसीले यस अघि मुम्बई र राजस्थान बिरुद्ध अर्धशतक बनाएका थिए। पन्जाबका सम्पूर्ण बलरहरु विकेटविहिन रहे।

जितपछि चेन्नाई ५ खेलमा २ जित र ३ हार सहित ४ अंक बटुल्दै पुछारबाट अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान नेट रनरेटमा अघि रहँदै चौथो र पाँचौ स्थानमा रहेको छ। ४ अंकनै रहेको हैदरावाद सातौँ स्थानमा छ। हारपछि पन्जाब ५ खेलमा १ जित र ४ हार सहित २ अंक सहित पुछारमा पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments